दलहरुको नाम नलिई रुप फेरी फेरी षड्यन्त्र नगर्न पूर्वराजा शाहको चेतावनी 

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुको नाम नलिई रुप फेरी फेरी (परिवर्तन गरी गरी) षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । उनले अहिले चलिरहेको अवस्थामा व्यापक हेरफेर र सुधार गर्नुपर्ने बताएका छन् । उनले आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै सबै एक ठाउँमा उभिएर जानुपर्ने बताए ।

भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए ।
देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ भने ।

विगतको सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले अब भाँच्चिएको टुक्राहरु जोडिदिनुपर्ने बताए ।
देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने भन्ने प्रश्न गर्दै उनले पहिले अन्याय, अत्याचार मुक्त गर्नुपर्ने बताए । उनले अनुहार परिवर्तन गरी षड्यन्त्र नगर्न दलहरुलाई चेतावनी दिए । उनले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरीसहित सहभागी भएका छन् ।
विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुती गरेका थिए ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा रामप्रसाद बस्यालले जनता पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । कार्यक्रममा  राजा आउ देश बचाउ लगायतको नारा लगाइएको थियो ।


पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेको हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन् ।

सभामा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको तर्फबाट पूर्व मन्त्री निरन्जन थापाले स्वागत मन्तव्य राख्दै मुलुकमा दलीय व्यवस्था असफल भएकाले राज संस्था पुनर्स्थापना गरी अब देशको नेतृत्व संहाल्न आग्रह गरेका थिए । समारोहमा एमाले,कांग्रेस, माओवादी,तराई केन्द्रीत दलका स्थानीय नेता कार्यकर्ताको उल्लेख सहभागिता छ ।

समारोहका संयोजक डा. रामप्रसाद बस्यालले अभिन्नद पत्र सुनाउंदै जनता राजसंस्था पुनस्थापनाका लागि आन्दोलित हुनुपर्ने बेला आएको बताए । राजा जनताको साथमा आइसकेकाले अब जनता जुरुक्कै उठ्नुपर्ने उनको भनाई थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *