
सुदर्शन पन्थ, पुस १९ गुल्मी।
मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि. छत्रकोट-३ लुम्छा गुल्मीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
छत्रकोट देवालय मन्दिरको परिसरमा सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष रामकृष्ण न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि छत्रकोट गाउँपालिकाका संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ,विशिष्ट अतिथि वडा नं ३ का कार्यवाहक वडाध्यक्ष शेर बहादुर वलाल, सचिव खिमलाल पन्थ, कार्यपालिका सदस्य, यस क्षेत्रका विद्यालयका प्र.अ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष , सहकारीका कर्मचारी, शेयर सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
सहकारीका उपाध्यक्ष मिलन पन्थको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहरकारीका प्रमुख कार्यकारी अधिकृत किरण न्यौपानेले सहकारीको वर्तमान वित्तीय स्थिती सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । उहाँले संस्थाको वित्तीय प्रगति ४७.६२% रहेको र हालसम्म ४२४ जना शेयर सदस्य रहेको बताउनु भयो।
सभाले सदस्य विमा योजना सञ्चालन, उखु खेती कार्य सञ्चालन, नयाँ प्रमुख कार्यकारी अधिकृत चयन लगायत विभिन्न १६ वटा प्रस्ताव छलफल सहित पारीत गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पन्थले सहकारीको बदनामीको चर्चा भइरहेको अहिलेको अवस्थामा मुक्तिनाथ बहुउद्देश्यीय सहकारीले बचत तथा कर्जा सहित रोजगारको सिर्जना बृहत उखु खेतिको योजना जस्ता कार्यक्रम सञ्चालन गरेर सहकारीहरु ठगी गर्छन् भन्ने भास्यलाई पन्छाएको जिकिर गर्नुभयो। अध्यक्ष रामकृष्ण न्यौपानेले सहकारीको क्षेत्र विस्तार गरेर लुम्बिनी प्रदेशका ६ जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र दाङमा सेवा पुर्याउने लक्ष्य रहेकोले सबैलाई सहयोग गर्न अग्रह गर्नुभयो। सहकारी भन्ने बित्तिकै बचत र कर्जा मात्र नभएर सहकारीले रोजगारी, स्थानीय उत्पादनमा सहयोग लागायतका अन्य विभिन्न कार्य पनि गर्न सक्ने कुरा उल्लेख गर्नुभयो।
संस्थाका सचिव शंकर महोत्राले सञ्चालन गर्नु भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो।