माधव ज्ञवाली, असोज १६ गुल्मी ।
गुल्मीमा खुल्ला जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको खेलमैदान घ्युबेशीमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुनेभएको हो । “स्टार इलाभेन(XI) चौतारा” रुरुक्षेत्र ४ चौताराले आयोजना गरेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि सञ्चालन हुने भएको छ ।
गुल्मी जिल्लामै क्लब वा टिमको रुपमा दर्ता भएका टिमहरुले प्रतियोगितामा सहभागी हुन पाउने छन् भने प्रत्येक टिममा कम्तीमा १२ जना खेलाडी गुल्मी जिल्लाकै स्थानीय हुनुपर्ने छ भने ३ जना खेलाडी जिल्ला बाहिरबाट पनि सहभागी गराउन पाइने आयोजकले जानकारी दिएको छ ।
टिमका खेलाडीको परिचय खुल्ने कुनैपनि सक्कली परिचयपत्र अनिवार्य लिएर टिम दर्ता गर्नुपर्ने र परिचयपत्रको फोटोकपी लिएर आएमा टिम दर्ता नगरिने खेल संयोजक केशब पौडेलले जानकारी दिए। सुरुमा दर्ता गरेको खेलाडी नै अन्तिमसम्म हुनुपर्ने पनि उनले बताएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.६६ हजार ६ सय ६६ साथमा कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद रु.३३ हजार ३ सय ३३ साथमा कप, मेडल तथा प्रमाण पत्र प्रदान गर्नेछ।
त्यस्तै, म्यान अफ द सिरीज लाई ट्रफी सङ्गै नगद रु.३ हजार, उत्कृष्ट ब्याट्समेनलाई ट्रफी सङ्गै नगद रु.१५ सय, उत्कृष्ट बलरलाई पनि ट्रफी सङ्गै नगद रु.१५ सय र प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई पनि मेडल प्रदान गरिने आयोजकको भनाइ रहेको छ।
सहभागी हुने टिमले असोज २८ गतेसम्म टिम दर्ता गराउनुपर्ने र टिम दर्ताका लागि नगद रु.४ हजार शुल्क लाग्ने जनाइएको छ, खेल १० ओवरको खेलाईने छ।