तीन जिल्लाको संगम स्थल रूरूक्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै 

चैत २० , गुल्मी । गुल्मी , पाल्पा र स्याङ्जाको संगम रूरूक्षेत्र पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ कालीगण्डकीमा नुहाउने, नजिकैको ऋषिकेशव मन्दिरमा पूजाअर्चना गर्ने गर्छन् ।

पछिल्लो समय तीन जिल्ला जोड्ने झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेका छन् । अझ स्याङजातर्फ रहेको हनुमान वाटिकाको रंगरोगन र पुनःनिर्माण गरेपछि झन् पर्यटकलाई रूरूक्षेत्र भुल्ने थलो बनेको स्थानीय हिरा सोमैले बताइन् ।

उनका अनुसार केही महिनाअघिसम्म सुनसान रहेको हनुमान शिलालाई पुनःनिर्माणपछि दिनहुँ तीर्थयात्री र पर्यटक घुम्न पुग्ने गरेका छन् । रूरूक्षेत्रको तीनमुखे पुलमा सेल्फी खिच्ने, यहाँबाट स्याङ्जातर्फको भीरमा हनुमानको शिला जाने गर्छन् । यहाँ यस क्षेत्रकै सबैभन्दा ठूलो शालिग्रामसमेत राखिएको छ । शालिग्राम एक महिनाअघि मात्र फेला परेको हो ।

रूरूक्षेत्रस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई हनुमान वाटिकामा लगेर पूजाआजा गरिएको छ । साथै यसलाई अवलोकन गर्न श्रद्धालु साथै पर्यटकसमेत पुग्छन् । हिन्दू धर्म मान्नेहरूका लागि शालिग्रामको महत्त्व धेरै छ । कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइएपनि ठूला खालका कमै भेटिने कसजुले बताए । स्याङ्जातर्फ वालुवा निकाल्ने क्रममा शालीग्राम भेटिएको थियो ।

दामोदर कुण्डबाट उत्पत्ति भएर कालीगण्डकी र मुक्तिनाथबाट निस्किएको छ । नदीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा पाइने शालिग्राम हिन्दू धर्मावलम्बीले पुज्ने गर्छन् । कालीगण्डकी नदी किनारमा मात्र पाइने औसतका ढुंगा भन्दा गहौं हुन्छ । यसको भित्री भागमा सुनलगायत धातु रहेको भन्ने धार्मिक विश्वास छ ।

झन्डै ५ सय किलोको शालिग्रामलाई त्यहाँ राखेपछि धार्मिक पर्यटकका लागि थप आकर्षण बढेको रूरूक्षेत्र निवासी अभियन्ता सुन्दर कसजुले बताए । कसजुले सामाजिक सञ्जालमार्फत् आर्थिक संकलन गरेर हनुमान बाटिकाको पुनर्निर्माण गर्न सघाएका हुन् ।

अभियानमा झन्डै नौ लाख रुपैयाँ संकलन भएको अभियन्ता कसजुले बताए । त्यही रकमबाट हनुमान शिलाको पुनःनिर्माण गरिएको उनले बताए । हनुमान थान अहिले पर्यटकका लागि आकर्षक वाटिका बनेको छ । वाटिकामा हनुमान शीलालाई पूर्ण आकृति दिइएको छ । संकलित रकमबाट हनुमान थानको वरिपरि रेलिङ राखिएको छ । साथै फलामको कुर्सिहरु व्यवस्थापन गरिएको छ । शालिग्रामलाई व्यवस्थित गरेर राख्ने योजना बनेको छ ।

श्रद्धालु सहयोगीबाट संकलन गरिएको सानासाना घण्टीहरु झुन्डाइएको छ । रंगरोगन साथै विद्युतीकरण गरिएको छ । पछिल्लो समयमा रातिको समयमा पनि रूरूक्षेत्रको जुनसुकै स्थानबाट पनि हनुमान शीला देख्न सकिने बनाइएको रूरूक्षेत्रका बासिन्दा देवराज श्रेष्ठले बताए । यसको धार्मिक महत्त्व र आस्थालाई थप जागृत गर्न राम र सीताको ६ फिट अग्लो मुर्ति बनाउने तयारी छ । रूरूक्षेत्रमा पछिल्लो समयमा मुलुकका विभिन्न स्थानहरूबाट दैनिक पर्यटक आउने क्रम बढेको ज्योतिमान श्रेष्ठले बताए । कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *