काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनकाे लक्ष्य दिएकाे छ ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेकाे भारतले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायाे । भारतका दुई जना खेलाडीले शतक बनाए । सचिन दासले १ सय १६ र कप्तान उदय शरन सय रन बनाएर आउट भए । भारतले ६२ रनमा ३ विकेट गुमाएकाे अवस्थामा सचिन र उदयले चाैथाे विकेटका लागि २ सय १५ रनकाे साझेदारी गरे । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।
‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको सेमिफाइनल पुग्ने सम्भावना ‘सुपर सिक्स’ अघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल ‘सुपर सिक्स’ मा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।