साबित्रा पौडेल, मंसिर १४ गुल्मी।
गुल्मीको गुल्मीदरवार गाउँपालिकामा एकीकृत घुम्ती शिविर हुने भएको छ।
गाउँपालिकाको समन्वयमा यहीँ मंसिर २४ गतेदेखि ३० गतेसम्म गाउँपालिका भित्रका सबै वडामा शिविर हुने भएको हो।
गाउँपालिकाका नागरिकको सहजताका लागि घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो ।
शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र, कृषि क्षेत्रको लागि माटो परिक्षण, पशुपंक्षि सम्बन्धि परामर्श र औषधि वितरण, अपाङ्ग परिचय पत्र वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण लगायतका सेवाहरु प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो।
शिविरको पहिलो दिन अर्थात मंसिर २४ गते १ नं वडा कार्यालय बलिथुम, दोस्रो दिन २ नं वडा कार्यालय जुभुङ्ग, तेस्रो दिन अर्थात मंसिर २६ गते ३ नं वडा कार्यालय राजा, चौथो दिन मंसिर २७ गते ४ नं वडा कार्यालय विरबास, पाचौं दिन मंसिर २८ ५ नं वडा कार्यालय अमर अर्वाथोक छैठौं दिन मंसिर २९ गते उपल्लो हटिया र सातौं अर्थात शिविरको अन्तिम दिन वडा नं ७ को कार्यालय ठुलोपोखरामा चल्ने छ।
गाउँपालिकावासी नागरिकहरू आवश्यक कागजातको साथमा आआफ्नो वडा कार्यालयमा गएर आफुलाई आवश्यक पर्ने सेवाहरु लिन सक्ने गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले बताउनुभयो।