
साबित्रा पौडेल , साउन १७ गुल्मी ।
गुल्मीमा बृहत भलिबल प्रतियोगिता हुने भएको छ।
जिल्लाको गुल्मी दरबार गाउँपालिका ४ बिरवास जिमीको ठूला पधेरा भलिबल मैदानमा प्रतियोगिता हुने भएको हो।
चण्डेश्वरी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा साविक गाविसको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा विविध प्रतियोगिताहरू हुनेछन्।
क्लबले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा “विकास अनुशासन गतिशीलता, चण्डेश्वरी युवा क्लबको एकता गाउँ,समाज र राष्ट्र सुधारमा विकास गर्ने हाम्रो प्रतिबद्धता” भने मूल नारा सहित प्रतियोगिताको आयोजना गरेको हो।
पुरुष भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क नगद रु २,५०० र महिला भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क १,००० लाग्ने क्लबका अध्यक्ष बाबुराम रजालीले जानकारी दिनुभयो ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ३० हजार कप, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै द्वितीय हुने टोलीले नगद रु १५ हजार तथा तृतीय हुने टोलीलाई नगद रु १० हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बमबहादुर रेश्मीले बताउनुभयो।
यस्तै महिला भलिबल प्रतियोगितातर्फ प्रथम हुने समूहले नगद १० हजार, द्वितीय हुने समूहले नगद ७ हजार र तृतीय हुने समूहलाई नगद ४००० तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता यहि साउन १८ गतेदेखि सुरु हुनेछ।
भलिबल प्रतियोगिता टिटी सिस्टममा खेलाइने र खेलाडी टिम संयोजकसहित आठजना हुनुपर्ने खेल संयोजक रेश्मीले बताउनुभयो।
यसैबीच क्लबले वार्षिक उत्सवको अवसर पारी २०८० सालको एसइइ परीक्षामा उत्तीर्ण क्लबका सदस्यहरूलाई सम्मान तथा बधाई कार्यक्रमको समेत आयोजना गरेको छ। भने जिमी टोलको अविवाहित एकल महिलालाई समेत सम्मान गरिने क्लबका सचिव मिलन रेश्मीले जानकारी दिनुभयो ।