माघ १८ गुल्मी/सबित्रा पौडेल:
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले अनुदानमा गोला सहितको मौरी घार वितरण गर्ने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै मौरीको घार अनुदानमा वितरण गर्ने जनाएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गर्ने भएको हो ।
कार्यक्रम संचालनको लागि मौरीपालन गर्न इच्छुक कृषकहरुले नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित वडाको सिफारिस पत्रसहित गाउँपालिकामा निवेदन दिन सक्नेछन् ।
वर्षौं पहिलेदेखि नेपालमा मौरीपालन हुँदै आएको छ । विगतका समयमा मौरीलाई काठको बाकस, खोपा, मुढा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो। यसको व्यवसायिक विकास हुँदै समयक्रममा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फ्रेम घारको निर्माण गरियो । अहिले आधुनिक तरिकाबाट मौरी पालन गरेर धेरै किसानहरूले यो पेशा अपनाएका छन् ।
व्यवसायिक रुपमा मौरीपालन कसरी गर्ने ?
परम्परागत मुढेघार वा खोपेघार सुधार्ने र चलायमान चौकोस राख्ने अथवा आधुनिक घारमा पनि मौरीपालन गर्न सकिन्छ । आधुनिक तरिकाबाट मौरीपालन गर्दा भने सबै घार एकै साइजको राख्नुपर्छ । घार राख्दा यसलाई अगाडिपट्टि ढल्काएर २५–३० सेन्टिमिटर उचाइको स्ट्याण्डमाथि राख्ने तथा स्ट्याण्डको चारवटै खुट्टामा पानी भरिएको कचौरा राख्नुपर्छ । मौरीको प्रवेशद्वार अगाडि खुला ठाउँ छाड्नुपर्छ जसले गर्दा रस बटुलेर आउँदा मौरीलाई घारमा छिर्न सहज होस् । दुईवटा घारको बीचमा कम्तीमा पनि १ मिटरको दूरी राख्नुपर्छ । गर्मीयाममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टिलेसनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिरको भाँडोमा नुनिलो पानी राखिदिने गर्नुपर्छ । जाडो याममा घारको वरिपरिका प्वालहरू थुनिदिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा वा पत्रिकाले घारका फ्रेमलाई छोपिदिने, खानाको अभाव भएमा चिनीको चास्नी दिने, कमजोर गोलालाई आपसमा संयोजन गरिदिने गरे मौरीपालन फस्टाउँछ । गृष्मा वा वर्षायाममा मौरीको रोग र शत्रु बढी देखापर्ने हुँदा त्यसको नियन्त्रणमा बढी ध्यान दिनुपर्दछ । सो समयमा आहाराको अभाव बढी हुने हुँदा कृत्रिम आहाराको व्यवस्था गर्नु पर्दछ । मौरीले गृह त्याग गर्ने सम्भावना बढी भएकोले प्रवेशद्वारमा रानु ढोका प्रयोग गर्ने, रोगी गोलाहरूमाथि तुरुन्तै उपचार गर्ने गर्नुपर्छ।
रोगी गोलाको पहिचान कसरी गर्ने ?
चाकामा छाउराहरू कम र छरिएर रहेका छन् भने त्यो घारको गोलामा रोग छ भनेर बुझ्नुपर्छ । मौरीका छाउराको रङ धमिलो खैरो देखिनु भनेको मौरी रोगायो भनेर बुझ्ने प्रमुख संकेत हो । रोगग्रस्त चाकाबाट नराम्रो गन्ध आउँछ । रोग लागेको र टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरू प्रशस्त देखिन्छन् । त्यस्तै रोगी मौरीहरू घार बाहिर घस्रेर हिँड्छन् । उड्न नसक्नु , घारभित्र जताततै मौरीले विष्टाएको देखिन्छ ।
नेपालमा कस्ता प्रकारका मौरीबाट मह उत्पादन गर्न सकिन्छ ?
अहिले नेपालमा विशेषगरी ५ प्रकारका मौरीको मह पाइए पनि व्यवसायिक रुपमा भने एसियाली घरपालुवा मौरी र युरोपेली मौरी पालन गरिन्छ । एसियाली घरपालुवा मौरी नेपालको रैथाने पुरानो मौरी हो, यो समुन्द्र सतहदेखि ३४ सय मिटरको उचाइसम्म पाइन्छ । त्यस्तै यसको एउटा गोलाबाट १० देखि २० केजीसम्म मह उत्पादन गर्न सकिन्छ । त्यस्तै नेपालमा युरोपियन जातको मौरीको पनि व्यवसायिक पालन गरिदै आएको छ । यस किसिमको मौरी समुन्द्र सतहदेखि १५ सय मिटर उचाइसम्म पालन गर्न सकिन्छ । यसको एउटा गोलाबाट ४० देखि ६० केजीसम्म मह उत्पादन गर्न सकिन्छ । यसबाहेक नेपालमा प्राचीन समयदेखि पाइने भीरमौरी, खागोमौरी, कठ्यौरी मौरीको पनि मह उत्पादन गर्ने गरिन्छ तर यसलाई घर पालुवा मौरीको रुपमा भने पाल्न मिल्दैन ।
महबाट हुने फाइदाहरू के-के हुन् ?
मौरीपालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मेहनत गर्ने पाठ सिकाउँछ। मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुदाँ मह उत्पादन गर्न सकिन्छ। महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।
नेपालमा मौरीपालन व्यवसायको अवस्था कस्तो छ ?
नेपालमा वार्षिक एक घारबाट ४० किलोसम्म मह उत्पादन हुन्छ भने सोही अनुपातमा एक सय घार मौरीबाट औसत १२ देखि १५ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा, मह ५० वर्षसम्म पनि बिग्रिदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ। मह प्रशोधनमा भने राम्रोसँग ध्यान पुगेन भने लामो समयसम्म राख्दा बिग्रन सक्छ। अहिलेको अव्यवस्थित चरनबाटै पनि वर्षेनी २० हजार टन मह उत्पादन गर्न सकिने र करिब ५ अर्ब आर्जन गर्न सकिने विज्ञहरू बताउँछन्। ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुग्दा नेपाली महले वार्षिक खर्बौं आर्जन गर्न सक्छ। चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सकिन्छ । महको अन्तर्राष्ट्रिय बजार जति पनि छ ।
मौरीपालनका समस्या र चुनौतीहरु के-कस्ता छन् ?
मौरीपालन व्यवसायको मुख्य समस्या भनेको चरनको अभाव हो । पर्याप्त चरनको व्यवस्था छैन जसले गर्दा मौरीले दिने जति उत्पादन नदिएर कृषकले भनेजति आम्दानी गर्न सकेका छैनन् । खेतीपातीमा विषादीको अत्याधिक प्रयोगको कारणले गर्दा पनि मौरीपालनमा थप चुनौती थपिएको छ । कृषकलाई मौरीपालनबारे प्राविधिक ज्ञानको अभाव हुनु पनि मौरीपालनको अर्को चुनौती रहेको छ । यसका साथै वाह्य देशको मह नेपालमा बढी हावी हुँदा कृषकले थप चुनौती खेप्नुपरेको छ ।