जबरजस्ती ताला तोड्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण : एमाले रुरुक्षेत्र

इश्वरी बस्याल साउन २, गुल्मी

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाईएको ताला खोलेको विषयमा नेकपा एमालेले असन्तुष्टि जनाएको छ । स्मार्टबोर्ड खरिदमा अनियमितता भएको भन्दै एमाले आन्दोलित भएको हो ।

पार्टीबाट निर्वाचित जनप्रतिनीधिका साथ एमाले रुरुक्षेत्रले गत असार ३० गते गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो । जिल्लास्थित सुरक्षा समिती समेतको पहलमा आज अपरान्ह ताला खोलिएकोप्रति आपत्ति जनाउँदै एमालेले वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने भनेको छ ।
पार्टीको गाउँ कमिटि अध्यक्ष फर्सुराम ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ “प्रशासनको आडभरोसामा जबरजस्ती ताला तोड्ने कार्य भएकोले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा अगाडि भनिएको छ “वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने पहल नगरी बलको प्रयोग गर्नुले समस्या झनै चर्किँदै जाने स्पष्ट देखिन्छ ।”
गत असार ३० गते उपाध्यक्ष मीनादेवी गौतमसहित २८ जनप्रतिनिधीले बुझाएको ज्ञापनपत्रबमोजिम अनियमितताको छानबिन नभएसम्म आन्दोलन अझै सशक्त बन्दै जाने पनि विज्ञप्तिमा उल्लेख छ ।
स्मार्टबोर्ड खरिद प्रकरणमा अनियमितता भएको तर, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै त्यसको ढाकछोप गर्ने प्रयासमा रहेको एमालेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *