
सुदर्शन पन्थ, चैत ३ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रृङ्गेश्वर क्याम्पसको स्ववियुको निर्वाचन यतिबेला चर्चाको विषय बनेको छ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियु तथा काँग्रेस निकट नेविसंघको संयुक्त प्यानलको बिच प्रतिस्पर्धा हुँदै छ।
दुवै पक्षका अध्यक्षहरुले आआफ्नै एजेन्डाहरु बनाएर निर्वाचनमा होमिदै छन् । आफ्नो विदेशीने कुनै पनि सपना नभएको र नेपालमै बसेर केही गर्ने हुटहुटी भएकोले क्याम्पसलाई गतिशील बनाउन र समग्र विद्यार्थीहरुको अधिकार संरक्षण गर्नको लागि आफुले गर्नु पर्ने थुप्रै कामहरु बाँकी रहेकोले पुनः उम्मेद्बारी दिएको वर्तमान स्ववियु सभापति तथा अखिल क्रान्तिकारीका उमेदवार विशाल थापाको भनाइ छ।
यता संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले स्ववियु शैक्षिक क्यालेण्डर निर्माण गरि सोहि अनुसार शैक्षिक र अतिरिक्त क्रियाकलाप नियमित रुपमा संचालन गर्ने, विद्यार्थीहकको सेवक र सहयोगी प्रतिनिधि बनेर निरन्तर रुपमा शैक्षिक विकासमा पहलकदमी गर्ने,पुस्तकालयको उचित व्यवस्थापन गर्दै युग सुहाउँदो प्रविधिमैत्री ई लाइब्रेरी स्थापनाका निम्ती पहल गर्ने लगायतका एजेन्डाहरु बोकेर आफू अगाडि बढेको र आफुलाई विद्यार्थीहरुको साथ र सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
चैत ५ गते हुने स्ववियुको निर्वाचनको लागि उक्त क्याम्पसमा एक सय १२ मतदाता रहेका छन् ।