शिक्षक नतिजामा महिलाको वर्चस्व, गुल्मीमा ७५ प्रतिशत महिला शिक्षक सिफारिस

गुल्मीको प्राथमिक तह शिक्षक नतिजामा ७५ प्रतिशत महिला सिफारिस भएका छन् ।

शिक्षक सेवा आयोगले गत मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार कुल २४ शिक्षक छनोट हुँदा १८ जना महिला सिफारिस भएका छन् । जसमध्ये ४ जना भने समावेशी अन्तर्गत महिला कोटामा छनौट भएका हुन् ।

आयोगले गत माघ ४ गते २६ जना महिलासहित कुल ३६ जना उमेदवारको नाम अन्तरवार्ताका लागि प्रकाशित गरेको थियो । विषयगत अर्थात दोस्रो चरणको लिखित परीक्षामा गुल्मीबाट ५५ जना उमेदवार सहभागी थिए ।

गत भदौमा भएको परीक्षाको नतिजा सार्वजनिक भइरहँदा अधिकांस जिल्लामा सिफारिस हुनेमा महिला धेरै छन् । नवलपरासी पश्चिममा महिला सिफारिस संख्या ७६ प्रतिशत छ भने दाङको नतिजामा ६९ प्रतिशत भन्दा बढी छ ।

शिक्षकमा पुरुषको आकर्षण घटेकाे हाे ?

निजामती सेवा, संस्थान सेवा वा अन्य सेवाको तुलनामा शिक्षकतर्फ पुरुषको आकर्षण घट्दै गएको देखिन्छ ।

जबकि, समान तहको राजपत्र अनंकित द्धितीय श्रेणी खरिदार खुलातर्फको एक नतिजामा भने १४ जना सिफारिस हुँदा २ जनामात्र महिला सिफारिस भएको देखिन्छ ।

लोकसेवा आयोग बुटवल कार्यालयले शुक्रबार प्रकाशन गरेको न्याय, प्रशासनतर्फको उक्त नतिजामा १२ पुरुष सिफारिस भए ।
शिक्षकको तुलनामा अन्य क्षेत्रमा पुरुषको आकर्षण केही बढी देखिएपनि त्यो अनुपात विस्तारै घट्दै गएको छ ।

शिक्षक सेवा आयोगतर्फ भने सबै तहमा महिला सहभागीता बढेको आयोगका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार कुल उमेदवारमध्ये महिला पुरुषको छुट्टाछुटै तथ्याङ्क भने आयोगसँग छैन ।

“अनलाइन आवेदन प्रणाली व्यवस्थित गर्ने काम भइरहेकोले अहिलेसम्म त्यसरी छुट्याउन सकिएको छैन, सायद अर्को वर्षदेखि हुन्छ होला” उहाँले भन्नुभयो “हालैको नतिजामा प्रायः सबै जिल्लामा अधिकांस महिला उमेदवारहरु सिफारिस भएको देखिन्छ ।”

आयोगको वार्षिक प्रतिवेदन २०८१ अनुसार तीन वर्षअघिको तुलनामा प्राथमिक शिक्षक बन्न आवेदन दिनेको कुल संख्यामा समेत कमी आएको छ ।

आयोगको ०७८/ ७९ को विज्ञापनमा प्राथमिक शिक्षक प्रतिस्पर्धामा कुल १ लाख १५ हजार ३ सय एकाउन्न जना सहभागी भएकोमा ०८०/ ०८१ मा त्यस्तो संख्या करिब एघार हजारले घटेर १ लाख ४ हजार ७१ मा सिमीत भएको छ ।

विद्यालय तहदेखि नै कक्षा छोडेर रोजगारीमा जाने वा उच्च शिक्षाका लागि बाहिरीनेमा छात्रहरु नै बढी भएकोले पछिल्लो समय सिफारिस हुने महिलाको संख्या बढ्दै गएको रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक गोपाल प्रसाद पाण्डे बताउनुहुन्छ ।

“महिला सहभागिता बढ्नु सकरात्मक विषय हो, हाम्रो संवैधानिक व्यवस्था समावेशी भएकै कारण पनि थप केही महिलाले अवसर पाएको स्थिती छ ।” पाण्डेले भन्नुभयो “अरु फ्याक्टरले पनि काम गरेको होला यसमा शिक्षाशास्त्र संकाय पढ्नेमा अधिकांस छात्रा भएका कारण पनि उनीहरु शिक्षणतर्फ आकर्षित भएको भन्न सकिन्छ । छात्रहरु धेरै विदेशिने, प्राविधिक विषयहरुमा बढी रुचि राख्ने तर, शिक्षण पेशामा सकभर होमिन नखोज्ने प्रवृति पनि छ । 

उहाँका अनुसार रेसुङ्गा बहुमुखी क्याम्पसमा पनि कुल विद्यार्थीको ७६ प्रतिशत भन्दा बढी छात्राहरु नै अध्ययन गरिरहेका छन् ।

पुरुषहरु उच्च शिक्षा वा रोजगारीका लागि विदेशिने क्रम बढेको र त्यो अनुपातमा बाहिरीने महिलाको संख्या कम भएकोले पनि महिला सिफारिस संख्या बढ्न गएको छत्रकोट गाउँपालिकाका शिक्षा अधिकृत टिकाराम आचार्य बताउनुहुन्छ ।

महिला सहभागिता वृद्धि हुनु राम्रो कुरा हो तर, यसका नाममा शिक्षण पेशालाई नै अवमूल्यन गर्न खोज्ने सामाजिक प्रवृतितर्फ भने सचेत हुनुपर्ने उहाँको भनाई छ ।

अन्य सेवाक्षेत्र भन्दा शिक्षकको सेवासुविधा र वृत्तिविकास समयानुकुल नभएकोले पनि युवापुस्ताको आकर्षण कम भएको आवाज पनि उठ्ने गरेको छ ।

आयोगले हाल प्राथमिक तहका शिक्षकहरुको नतिजा सिफारिस अन्तिम चरणमा पुर्याएको छ भने माध्यमिक र निम्नमाध्यमिक तहको भने पदस्थापन समेत सकिएको छ । वार्षिक कार्यतालिका अनुसार नै नयाँ विज्ञापनको तयारी पनि भइरहेको आयोगका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *