

साबित्रा पौडेल, फागुन ९ गुल्मी।
देशैभरका मगर समुदायले यही फागुन १५ गते बिहिबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन्।
मगर समुदायको बाहुल्यता रहेको गुल्मीका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत कार्यक्रमको आयोजना गरी मगर दिवस मनाइँदैछ।
नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको आयोजना तथा नेपाल मगर संघ गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ वार्ड कमिटीको सहआयोजनामा मगर एकता दिवसको अवसरमा बिहिबार मगर संस्कृति झल्किने झाँकी सहितका नाचहरु देखाइनेछ।

गुल्मी दरबार गाउँपालिका ३ राजा मा रहेको राजा रुन्खा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा झाँकी सहित सोरठी नाच, मगर महिला पन्चेबाजा, कौडा नाच, सालैजो नाच, नचरी नाच तथा मगर परिकारहरु सहित स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०३९ सालको फागुन १५ गतेका दिन तनहुको दमौलीमा पहिलोपटक राष्ट्रिय स्तरमा मगरहरू भेला भई सम्मेलन गरेका थिए।
पहिलोपटक मगरहरू एक भई भेला गरी स्थापना भएको दिन फागुन १५ गते मगर दिवसका रुपमा मगर एकता दिवस मनाउन थालिएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ ।
