अटिजम पाठशाला नेपाल गुल्मीले मनायो एक कार्यक्रमको बीच सातौं वार्षिक साधारण सभा

कार्तिक ९, गुल्मी ।

अटिजम पाठशाला नेपाल गुल्मीले सातौं वार्षिक साधारण सभा तथा अटिजम सचेतना उत्सव एक कार्यक्रमको बीच मनाएको छ ।

संस्थाको सभाहल रुरु क्षेत्र गाउँपालिका वडा नम्बर एक रिडीको रातामाटामा सञ्चालित कार्यक्रममा गुल्मी जिल्ला क्षेत्र नम्बर १ को क का प्रदेश सांसद चिन्तामणि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मी देवी पन्थको अध्यक्षता रहेको कार्यक्रममा पूर्व सांसद कमलराज श्रेष्ठ, छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली र अक्षयकोष दाता लोकेश ज्ञवालीको विशिष्ट अतिथ्यता रहेको थियो।

रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बिक,रुरु क्षेत्र गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी भट्टराई, वडा सदस्य घनश्याम ज्ञवाली, महिला वडा सदस्य लक्ष्मी सुनार, जग्गादाता तुलसी कुमारी श्रेष्ठ, इलाका प्रहरी कार्यालयका ज्ञानबहादुर खत्री, संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव प्रसाद ज्ञवाली, संस्थाका अक्षयकोष दाता, जग्गादाता, आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको स्कुल विभाग प्रमुख अमृता कण्डेलले संस्थाको प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन तथा कार्य योजना प्रस्तुत गर्नुभएको थियो।

उहाँले २२ लाख २० हजार मुद्दती तथा अन्य खर्च ११ लाख ६८ हजार गरी जम्मा ३४ लाख ४६ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

लोकेश वर्षा कोशका संस्थापक लोकेश ज्ञवालीले अटिजम विश्वव्यापी समस्या भएकाले राज्यले दायित्वबोध गरी एक शिक्षक एक विद्यार्थी अनुपातमा सिकाई सहजकरण गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । सपना देखेर पूरा गर्नुपर्छ भन्दै अपाङ्गता भएका व्यक्तिले समान अवसर दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले संस्थालाई हरेक कोणबाट सहयोग गर्ने बताउँदै संस्थाको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि छात्रकोट गाउँपालिका उपाध्यक्ष ज्ञवाली, हिमाल श्रेष्ठ, लेखनाथ कण्डेल, रामप्रसाद घिमिरे, केशव भण्डारी, पार्वती गौतम, लक्ष्मी रजालि, सरस्वती भण्डारी, किरण आले किशोर आले र केशव कँडेल गरी १२ जनाले नयाँ आजीवन सदस्यता लिनुभएको छ।
कार्यक्रममा सीता ज्ञवाली, रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिक, अक्षयकोष दाता ज्ञवाली, छत्रकोट गाउँपालिका उपाध्यक्ष ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा अटिजम पाठशालाले प्रकाशन गरेको ऋषिराम ज्ञवालीद्वारा लिखित बाढीका कविता संग्रहको विमोचन गरिएको थियो।

पुस्तकको समालोचना कवि तथा लेखक रेणुका पन्थीले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका ८३ जना आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका स्वयंसेवक विष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *