माधव ज्ञवाली, गुल्मी ।
स्टार इलाभेन चौतारा गुल्मीद्वारा आयोजित जिल्लास्तरीय खुल्ला क्रीकेट प्रतियोगिताको उपाधी आयोजक स्टार इलाभेन चौतारा टिम “ए” ले उचालेको छ । शुक्रवार भएको फाइनल प्रतिस्पर्धामा श्रृङ्गेश्वर युवा क्लबलाई फराकिलो अन्तरले हराउँदै आयोजक टिमले उपाधी आफ्नो कब्जामा पारेको हो ।
सुरुमा व्याटिङ्ग गरेको आयोजक स्टार इलाभेनले निर्धारित १० ओभर खेल्दै ८३ रन जोडेको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको श्रृङ्गेश्वरले १० ओभरमा आफ्नो ९ विकेट गुमाउदै ४७ रनमात्र जोडदा स्टार इलाभेनले ३६ रनले सहज जित निकालेको हो ।
शुक्रबारको खेलमा २६ रन र २ विकेट लिएका स्टार इलाभेनका इन्द्रजित यादव म्यान अफ दि म्याच घोषित भए भने प्रतियोगिताको म्यान अफ दि सिरिज भने स्टार इलाभेनकै तुलबहादुर थापा भए, उनले कुल ३ खेलमा १०४ रन र ६ विकेट निकाल्दै म्यान अफ दि सिरिजको उपाधी जित्न सफल भएका हुन् ।
प्रतियोगितमा विजेता हुँदै आयोजक स्टार इलाभेनले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँ सङ्गै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाउन बाध्य श्रृङ्गेश्वरले नगद रु.३३ हजार ३ सय ३३ सङै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्स्म्यान तुलबहादुर थापा र बेस्ट वलर त्रिदेव कार्की हुन सफल भएका छन् । बेस्ट ब्याट्स्म्यान, बेस्ट बलर र म्यान अफ दी सिरिजलालाई पनि नगद, कप एवं मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयोजक क्लबका एडमिन एवं बिजेता टीमका कप्तान रेशम खड्काले जानकारी दिए। बिजेता तथा उपविजेताहरुलाई समापन सत्रका प्रमुख अतिथि एवं प्रदेश सांसद चिन्तामणी पाण्डेले पुरस्कार प्रदान गरेेका थिए ।
उद्घाटन सत्रका प्रमुख अतिथि एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले युवाहरुले खेलप्रति देखाएको लगावले सिंगो गाउँपालिका परिवार खुसी भएको र गाउँपालिका भित्र रहेका खेलमैदानहरुको स्तरोन्नति एवं ब्यवस्थापन गर्नु मुख्य दायित्व गाउँपालिकाको भएकोले त्यसमा गाउँपालिका दृण रहेको बताउँदै रिडी र घ्युबेशीमा रहेका मुख्य खेलमैदानहरुको स्तरोन्नति गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
यस् आर्थिक वर्षमा रिडीको खेलमैदान स्तरोन्नति एवं ब्यवस्थापनका लागी रु. १ करोड बजेट विनियोजन गरिएको तर घ्युबेशीमा भने जग्गासम्बन्धी काम अझै नसकिएकोले पर्याप्त बजेट माग गर्न नसकिएको र आगामी बर्ष त्यो समस्या समाधान हुने उनले बताएका छन् ।
उनले कोहि त्यस्तो संभावना बोकेको उत्कृष्ट खेलाडी भए उसलाई अगाडि बढाउन सिंगो गाउँपालिका एवं ब्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउँदै यो पेरिफेरीबाट पनि खेलाडीको रुपमा टिभीमा हेर्ने इक्षा रहेको बताए।
उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा न.४ का वडा अध्यक्ष मोतिप्रसाद श्रेष्ठ, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थित रहेको थियो।
प्रतियोगितामा रुरुक्षेत्र गाउँपालिका गुल्मी संरक्षकको रुपमा रहेको थियो भने देवदह पोल्ट्री फार्म एण्ड ह्याचरले प्रतियोगितामा प्रमुख प्रायोजन गरेको थियो।
खेल १० ओभरको खेलाइएको थियो भने प्रतियोगितामा जिल्ला भरिका २१ टिमको सहभागिता रहेको थियो ।
समापन कार्यक्रम आयोजक स्टार इलाभेन चौताराका एडमिन रेशम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।