सुदर्शन पन्थ, असोज २१ गुल्मी ।
देशभर दशैको माहोल छाएको छ । दशै भन्ने बित्तिकै गाउँ गाउँका बाटो सोर्ने सरसफाइ गर्ने भन्ने कुरा जनजिब्रोमा आउँछ तर यसपालिको दशैमा परिस्थिती अल्लि फरक भएको छ ।
भदौ ११ र १२ गते परेको अबिरल वर्षाका कारण देश भरको जन जीवन प्रभावित बन्यो सयौंको सङ्ख्यामा मानिसले ज्यान गुमाए कयौं घाइते भए हजारौँ मानिसको घर बास उजाडियो । सोही वर्षाका कारण देशका अधिकांश सडक तथा राजमार्गहरु अवरुद्ध भए । ती मध्य धेरै जसो सडक अझै सुचारु हुन सकेका छैनन्। जसको असर अहिले दशैको बेला राजधानीबाट घर फर्किने यात्रुहरुलाई परेको छ । एक हप्ता १० दिन अगाडि नै अग्रिम रुपमा टिकट काटेर घर जान लागेका यात्रुहरु कोहि बाटोमै अलपत्र परेका छन् त कोहि भनेको समयमा गाडी राजधानी फर्किन नसक्दा कहिले गाडी आउला भनेर कुरि बसेका छन् ।
यसै मध्यको एउटा सडक खण्ड हो पृथ्वी राजमार्ग , यस मार्ग अन्तर्गत पर्ने दाउन्नेमा अविरल वर्षाका कारण बाटो भसिएर केहीछिनको लागि सामन्य ट्र्याक खुलाएर एक तर्फी रुपमा मात्र सवारी साधन चलेका छन् । यहाँ अहिले पनि सयौंको संख्यामा यात्रुबाहक बसको जाम लागीरहेको छ । बाटो सामान्य अवस्थामा हुँदा यहि मार्ग भएर करिव १२/१५ घण्टामा काठमाडौदेखि गुल्मी सम्म आउने आफुहरु ३/४ दिन लगाएर गन्तव्यमा पुग्नु पर्ने बाध्यता भएको यात्रुहरुको गुनासो छ ।
“छिटै पुगिन्छ होला भनेर बासपार्कदेखि हिड्दा केहि खाने कुरा नि बोकिन , आज त जसरी पनि घर पुग्नु पर्ने छ , आज पुगेन भने त मेरो काम नै बन्दैन , यो जङ्गलको बिचमा खाने कुरा नि कहाँ पाउनु” जाममा परेका अधिकांश यात्रुहरु बाट यस्तै खालका गुनासोहरु सुनिन्छ । यहि अनुसारको जाम लागि रहने अवस्था रहि रह्यो भने त यसपाली कतिपय यात्रुको दशैको टीका बाटोमै हुने अवस्था नआउला भन्न सकिँदैन ।
बाटो बिस्तारका नाममा अनावश्यक बाटो भत्काउने र धेरै वर्ष बितिसक्दा पनि बाटो मर्मत नगर्ने परिपाटीले यस्तो अवस्था खेप्नु परेको यातायात व्यवसायीहरुको भनाइ छ। अखिर यो अवस्था कहिले सम्म? यसमा सम्बन्धित निकाय र सरकारको बेलैमा ध्यान जान जरुरी छ ।
साथै यस वर्षको दशैमा पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।