आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

श्रावण ३२, काठमाडौँ ।

विदेशमा यन्त्र (मेसिन) मा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै निर्माण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

उत्पादनलाई प्राथमिकता,संस्कृतिको संरक्षण एवं धागोलाई वैदिक विधिअनुसार जनै बनाउन अनेरास्ववियुले प्रशिक्षण दिएको हो ।

विदेशी मूलबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक नहुने हुँदा अनेरास्ववियुले प्रशिक्षण कार्यक्रम आयोजना गरेको अनेरास्ववियु वाल्मीकि विद्यापीठ इकाई समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले जनैमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियु वाल्मीकि विद्यापीठले गरेको कार्यक्रमले इँटा थप्ने काम गरेको उहाँको भनाइ थियो । पूर्वीय दर्शनले बताएअनुसारको स्वदेशी जनै निर्माणमा विद्यापीठले अग्र भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले वर्षेनी करोडौँ रुपैयाँको जनै आयात भएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्वदेशी उत्पादनको जनै धारण गर्न समेत अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई उहाँको आग्रह थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वाल्मीकि विद्यापीठका प्राध्यापक डा.भागवत ढकालले अनेरास्ववियुको कदमले शोभा बढाएको बताउनुभयो । विद्यार्थी सङ्गठन रचनात्मक काममा अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । त्यस्तै,कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष सङ्गम अर्यालले जनैको महत्त्व दर्शाउनपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले फरक प्रसङ्गमा बोल्नुहुँदै कलकारखाना बन्द गर्न हात धोएर लागेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले कलकारखाना बन्द गर्ने दुष्प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका स्मरण गर्नुभयो । संस्कृत शिक्षालाई वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमका मुख्य प्रशिक्षक विष्णुप्रसाद पोखरेलले जनैको महत्त्व र वैज्ञानिक दृष्टिकोणका बारेमा प्रस्ट्याउनुभयो । कार्यक्रममा सह-प्राध्यापक कान्ता भट्टराई, अनेरास्ववियुका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *