मनसुनी वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ।
गुल्मी लगायत विभिन्न भूभागमा गएरातिदेखि नै झरी परिरहेको छ।
मौसविद सञ्जिव अधिकारीले अहिले ‘वाइडस्प्रेड’ अर्थात देशैभरी छरिएर वर्षा भइरहेको बताए।
पछिल्लो चौबिस घन्टामा ३५ भन्दा बढी स्थानमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको छ।
बाढी पूर्वानुमान् महाशाखाले प्रविष्ट गरेको विवरण अनुसार शनिबार दिउँसो पछिल्लो २४ घन्टामा (१२:४५ अघि) सबैभन्दा बढि पानी पाल्पामा परेको छ।
पाल्पाको कुमालगाउँमा पछिल्लो चौबिस घन्टामा ३६५.६ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाले वेभसाइटमा प्रविष्ट गरेको विवरण अनुसार पछिल्लो चौबिस घन्टामा प्यूठानको मारी नदा १४३ मिलिमिटर, बाँकेको पश्चिम राप्तिमा १७० मिलिमिटर, गुल्मीको बडिगाडमा १५१ मिलिमिटर, तनहुँको विमलनगरमा १४२ मिलिमिटर, दाङको घोराहीमा २४१ मिलिमिटर, प्यूठानको स्वर्गद्वारीमा १२८ मिलिमिटर, दाङकै शुखबारेमा १९१ मिलिमिटर, रातमाटामा २४६ मिलिमिटर, लमहीमा २५० मिलिमिटर, लालमटियामा १९४ मिलिमिटर, बगसोतीमा २४३ मिलिमिटर, प्युठानको हंसपुरमा १७६ मिलिमिटर, पाल्पाको गण्डकोटमा २८१ मिलिमिटर, बल्ड्याङगढीमा २०२ मिलिमिटर, अर्चलेमा २५४ मिलमिटर वर्षा भएको छ।
नवलपुरको देउराली नवलमा २०१ मिलिमिटर, स्याङ्जामा २५९ मिलिमिटर, मलुंगामा २५० मिलमिटर, तनहुँको सुखरमा १५१ मिलिमिटर, गोरखाको बारपाकमा १५४ मिलिमिटर, पर्साको मुडलीमा १९६ मिलिमिटर वर्षा भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक रहेका कारण लगातार पानी परेको अर्का मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
पानी पर्ने र रोकिने क्रम चलिरहने उनले बताएकी छन्।
काठमाडौं उपत्यकामा गएरातिदेखि परेको पानी भोलिसम्म पनि रोकिने सम्भावना नरहेको उनले बताइन्।
अविरल वर्षापछि बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ।
विभिन्न राजमार्गहरू पहिरोका कारण अवरूद्ध छन्।
महाशाखाले पनि पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेको थियो।
त्यस्तै इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, बझाङ, बाजुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बह अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।
साथै देशभरका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै सतर्क रहन भनेको छ।