फागुन ४ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सुरक्षित मातृत्व कार्यक्रमको पालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिकाको सभाहलमा सुरक्षित मातृत्व कार्यक्रम सम्पन्न भएको हो ।
समिक्षा कार्यक्रममा श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.विवेक बिराट खनाल सहित १४ वटा स्वास्थ्य संस्थाका प्रमुख र ६ वटा ब्रथिङ सेन्टरका फोकल पर्सनहरुको सहभागीता रहको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र स्टाफ नर्स मुना रानाले गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७९।०८० र आर्थिक बर्ष २०८०।०८१ को गत ७ महिनामा सम्पन्न भएको आमा सुरक्षा कार्यक्रमको प्रगति समिक्षा गरिएको थियो ।
सुरक्षित मातृत्व कार्यक्रमको उच्च प्रगति हासिल गर्न योजना तर्जुमा गरिएको थियो । साथै गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति गाउँपालिका सुनिश्चितता र दिगोपन कायम राख्नका लागि लुम्बिनी प्रदेश सरकारबाट जारी निर्देशिका २०८० बारे छलफल गरी कार्यान्वयन गर्ने सहमती भएको थियो ।
कार्यक्रममा आमा गाईडलाईन र रेफरल मेकानिजम बारे डा.बिवेक बिराट खनालले प्रष्ट पार्नुभएको भएको थियो । भने पालिका स्तरिय समिक्षा कार्यक्रमको संचालन सिनीयर अहेव सपना टण्डनले गर्नुभएको थियो ।