रानीमहल जाने बाटो आजदेखी ४८ दिनका लागि चौबिसैँ घण्टा बन्द हुने

माघ १७ , गुल्मी ।

ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक आजदेखी चौबिसैँ घण्टा बन्द हुने भएको छ । रानीमहल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनदेखि रानी महलसम्म जाने सडक आजदेखी आगामी चैत ५ गतेसम्म बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । रानी महल जाने सडकको बैकुन्ठे भीर क्षेत्रमा सडक बनाउनुपर्ने र सो क्षेत्रको सडक साँघुरो रहेकाले बन्द गरेर निर्माणको काम गर्नुपरेको उहाँले बताउनुभयो ।

रानी महलसम्म जानका लागि अन्य वैकल्पिक बाटो प्रयोग गर्न सकिने सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । जसको लागि तानसेन–अर्गेली–कमलपोखरी–छेर्लुङ् सडक प्रयोग गरेर रानी महलसम्म जान आउन सकिने कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो ।

यस्तै जिल्लाको आर्यभाङ्ज्याङ् रामपुर सडक खण्ड समेत बन्द गरिने भएको छ । सो सडक खण्डको हुमिन ताहुँ देउराली खण्डमा सडक निर्माण गर्न आजदेखी फागुन १६ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय भएको जिल्लास्थित राजमार्ग (सडक) सुरक्षा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *