तीन जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रमा दोस्रो दिन आज पनि दर्शनार्थीको घुइँचो

माघ २ , गुल्मी ।

धार्मिकस्थल रुरु क्षेत्र रिडीमा आज दोस्रो दिन पनि दर्शन तथा मेलाका लागि पुग्नेहरुको भिडभाड छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकीमा स्नान गर्नका लागि दर्शनार्थीको घुइँचो छ । नेपालका बराह क्षेत्र, पशुपतिनाथ, जनकपुर धामसहित रुरु क्षेत्र पनि एक मुख्यधाम मानिन्छ ।

धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण रहेको रुरु क्षेत्रमा हिजो मुख्य दिन माघे सङ्क्रान्ति नुहाउनेहरुको भीड लागेको थियो । माघे सङ्क्रान्तिको अवसरमा हिजोदेखि शुरु भएको मेला ६ दिनसम्म चल्ने छ। स्थानीय रुरु फ्रेण्ड्स क्लबसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा मेला गरिएको हो ।

मेलामा विशेषगरी उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी, बाँस तथा चोयाबाट बनेका सामग्री, ओखरका घाँजी, गुँड, सुन्तलालगायतका वस्तु बिक्रीका लागि राखिएको छ । मेलामा व्यापार गर्न प्यूठान, बाग्लुङ, रुकुम, रोल्पालगायतका ठाउँबाट समेत व्यापारीहरु रिडीमा पुगेका छन् ।

त्यस्तै, जिल्लास्तरीय कृषि मेला प्रदर्शनीकाे आयोजना गरिएको छ । रुरु क्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा रैथानेबाली संरक्षणका लागि प्रदर्शनी राखिएको हो ।

प्रदर्शनीमा स्थानीय सुन्तलाजात फलफूल, तरकारी, खाद्यान्नवाली तथा बिउबिजनलगायतका स्थानीय रैथाने वस्तु छन् । त्यस्तै, रिडीमा निर्माण भएको तीनमुखे झोलुङ्गे पुल हेर्न र घुम्नका लागि पनि मानिसको भीड लाग्ने गरेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी सङ्घ सरकारको सहयोगमा दुई वर्ष अघि तीनमुखे झोलुङ्गे पुल निर्माण भएको थियो । पुल निर्माणपछि आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *