पौष १६ गुल्मी/सबित्रा पौडेल
पाल्पा बुटवल सडक अन्तर्गत सिद्धार्थ राजमार्ग आज देखी यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सय दिन सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने प्रशासनले जनाएको छ ।
यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।
यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ।
सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द हुने भएको हो ।
सुरुङ निर्माणमा संलग्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यातायात संचालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पातर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माण भइरहेकाले सय दिनसम्म सडक बन्द गरेर काम गर्न दिइने प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङमार्गको दुरी दोभानदेखि सिद्धबाबासम्म १ हजार १ सय २६ मिटरको रहनेछ ।