तिलाचन पाण्डे
तम्घास, पुस १६ गते । मुसीकोट नगरपालिकाले कृषकले उत्पादन गरेका सुन्तला बगैँचामै गएर खरिद गरिदिएको छ । कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभएको र बजार नपाएको गुनासो आइरहेको समयमा नगरपालिकाले कृषकको बगैँचामा गएर सुन्तला खरिद गरिदिएको छ ।
कृषकको उत्पादनलाई बजारको सुनिश्चित गर्नका लागि नगरपालिकाले न्यूनतम दररेट निर्धारण गरी खरिद गरिदिने गरेको सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले कृषि उपज खरिद गरिदिँदा कृषकलाई बजारको समस्या नहुने र उत्पादनमा केन्द्रित हुन पाउने नगरपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारको समस्या नहोस् भन्नका लागि आफूहरूले न्यूनतम दर निर्धारण गरेको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । कृषकले उत्पादन गरेका उपज बिक्री नभएमा नगरपालिकाले निर्धारण गरेको दरमा खरिद गर्ने र बजार व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
यसरी कृषकको बगैँचामा आएर सुन्तला खरिद गरी नगरपालिकाले बजारीकरण गरिदिएकामा आफूहरूलाई बजारको झन्झट नभएको वडा नं. ९ का कृषक खडगबहादुर खत्रीले बताउनुभयो । प्रतिकिलो ४० रुपियाँमा बगैँचाबाटै नगरपालिकाले खरिद गर्दा बजारीकरणको चिन्ता पनि नभएको र भएको उत्पादन बिक्री भएकामा आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ ।
यस्तै अर्का कृषक दधिराम खरेलले पनि बगैँचाबाटै सुन्तला बिक्री गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाले कृषकबाट खरिद गरेर ल्याएको कृषि उपज, नगरपालिकाले सञ्चालन गरेको कृषि उपज बिक्री केन्द्रमा ल्याएर बिक्री गर्ने गरेको कृषि शाखा प्रमुख जनक पौडेलले बताउनुयो । जसको व्यवस्थापनका निम्ति एक जना दैनिक ज्यालादारीमा कर्मचारी राखेर व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ । कृषकको उत्पादन बिक्री नभएमा नगरपालिकामा सम्पर्क गर्ने र नगरपालिकाले निर्धारण गरेको दररेटमा पालिकाले खरिद गर्ने पौडेलले बताउनुभयो । गत वर्ष छ हजार ९३८.४ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
गोर्खापत्र