मंसिर २७ गुल्मी :
पाल्पा जिल्लामा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको छ। जिल्लाको माथागढीमा सञ्चालित चुनढुङ्गा पहुँच मार्गको गिद्धे भिर खण्डमा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको हो। नेपालमै पहिलो पटक यो प्रविधिको प्रयोग गरी गिद्धे भिरमा सडक निर्माण हुन लागेको माथागढी गाउँपालिकाले जनाएको छ। माथागढी गाउँपालिका–७ र ५ मा चुनढुङ्गा खानी सञ्चालन भइरहेको पाल्पा सिमेन्ट प्रालि र अर्घाखाँची सिमेन्ट प्रालिको संयुक्त लगानीमा जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुन लागेको हो।
करिब तीन किलोमिटर सडक जिओ सेल प्रविधिमार्फत निर्माण गर्न लागिएको पाल्पा सिमेन्टका जनसम्पर्क अधिकृत जीवन निरौलाले जानकारी दिनुभयो। अप्ठ्यारो स्थान भएकाले त्यस क्षेत्रमा नयाँ प्रविधिबाट सडक निर्माण गर्न लागिएको उहाँले बताउनुभयो। माथागढी र रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ को सीमा क्षेत्र गिद्धे भिर निकै अप्ठ्यारो र जोखिमयुक्त क्षेत्र मानिन्छ।
खानी पहुँच मार्गका लागि निकै उपयुक्त मानिने जिओ सेल प्रविधिले निर्माण गरिएको सडकले स्थानीय बासिन्दालाई समेत सहज रूपमा यात्रा गर्न मद्दत पुग्ने निरौलाले बताउनुभयो। चुरे क्षेत्र, हेभी लोड र धेरै गाडी चल्ने क्षेत्रमा नमुनाका रूपमा जिओ सेल प्रविधिबाट निर्माण हुने सडक २० देखि २५ वर्षसम्म टिक्ने दाबी गरिएको छ। उक्त सडकखण्डमा एक सय टनसम्मको भार वहन क्षमता हुने पाल्पा सिमेन्टका सिभिल इन्जिनियर सुधिर यादवले बताउनुभयो।
यस प्रविधिमार्फत सडक निर्माण गर्दा उकालो क्षेत्रको ग्राभेल नसर्ने हुँदा पहाडी क्षेत्रमा यो बढी प्रभावकारी हुने देखिन्छ। माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले अप्ठ्यारो र उकालो स्थानमा पिच या ढलानभन्दा जिओ सेल प्रविधिमार्फत सडक निर्माण गर्दा दिगो हुने बताउनुभयो।अध्यक्ष चिदीले अन्य देशका विभिन्न खानी क्षेत्रमा पनि यसको प्रयोग प्रभावकारी भएको हुनाले माथागढीमा पनि नमुनाका रूपमा यसको प्रयोग गरिएको बताउनुभयो।
स्रोत:गोर्खापत्र