गुल्मी, पुस १२ गते /रमेश विश्वकर्मा
गुल्मी प्रहरीले जिल्लाका विभिन्न स्थानमा चोरी गर्ने १२ जनालाई पक्राउ गरेको छ । जिल्लामा विभिन्न समयमा चोरी गरेको अभियोगमा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–५ सिराराका २० वर्षीय सागर गिरी, धुर्कोट गाउँपालिका–६ लाहाँटाका २२ वर्षीय गणेश सुनार, रेसुङ्गा नगरपालिका–७ का २३ वर्षीय वीरेन्द्र कुँवर, मालिका गाउँपालिका–७ का २५ वर्षीय सुनिल विक र १५ वर्षीय परिवर्तित, रेसुङगा–१ र मदाने गाउँपालिकाका ४५ वर्षीय भूपेन्द्र कुँवर रहेका छन् ।
त्यस्तै, गुल्मी दरबार गाउँपालिका–१ का २८ वर्षीय हिमाल भन्ने भुवन केसी, गुल्मी दरबार गाउँपालिका–३ का ३० वर्षीय सन्दीप थापा, सोही स्थानका २२ वर्षीय आशिष् बस्नेत, रेसुङ्गा नगरपालिका –१२ का २७ वर्षीय सन्तोष राना, धादिङ शिद्धलेख गाउँपालिका–३ स्थायी वतन भई हाल गुल्मी रेसुङ्गा नगरपालिका–१३ बस्ने ३५ वर्षीय पदम थापा मगर, चन्द्रकोट गाउँपालिका–२ का २८ वर्षीय रोमबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गत मङ्सिर १५ गते ईस्मा गाउँपालिकाका माधव कुँवरको लु ३६ प ५१८७ नम्बरको मोटरसाइकल र सुरेशबहादुर दमाइको लु ५४ प १०२३ नम्बरको मोटरसाइकल चोरी गरेर भागेका सागरलाई मङ्सिर १७ गते नै पक्राउ गरेको प्रहरीले जनाएको छ । गत मङ्सिर २८ गते धुर्कोट गाउँपालिका–६ लाहाँटास्थित दिनबहादुर कामीको खुद्रा किराना पसलमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संलग्न गणेशलाई मङ्सिर ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
एसपी प्रधानका अनुसार गत मङ्सिर १५ गते रेसुङ्गा नगरपालिका–५ बर्दिबासका विष्णुकुमारी जोगी कुँवरको अन्दाजी २२ केजीको बोका चोरी लगेको भन्ने सूचनाको आधारमा चोरीमा संलग्न वीरेन्द्र, सुनिल र परिवर्तित नाम ४६ रेसुङगा (१) लाई पक्राउ गरेको छ । पुस ५ गते मदाने गाउँपालिका–६ का निर्पबहादुर कुँवरको घरदेखि नगद २५ हजार रुपियाँसहित जिन्सी सामान चोरी भएको, चोरीमा संलग्न भूपेन्द्रलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुस ५ गते गुल्मीदरवार गाउँपालिका–३ निदुरका कुलबहादुर सराङ्कोटी र हुमबहादुर खत्रीको घरमा कोही नभएको अवस्थामा घरभित्र रहेका जिन्सी सामानहरू चोरी भएको घटनामा संलग्न हिमाल भन्ने भुवन, सन्दीप, आशिष्, सन्तोष र पदमलाई चोरी गरेका सामानसहित मिति पुस ७ गते पक्राउ गरिएको छ ।
चोरीमा संलग्न १२ जना सबैलाई नियन्त्रण गरी चोरी तथा डाँकासम्बन्धी कसुर (चोरी) शीर्षकमा मुद्दा दर्ता गरी गुल्मी अदालतको आदेशमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले बताउनुभयो ।
गोर्खापत्र