छत्रकोटमा स्मार्ट आमा सम्मान कार्यक्रम शुभारम्भ

साबित्रा पौडेल , माघ १३ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले स्मार्ट आमा सम्मान कार्यक्रम शुभारम्भ गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले १००० दिनका आमालाई लक्षित गरि गर्भ रहेदेखि बच्चा २ बर्षको उमेर हुँदा सम्म पुरा गर्नुपर्ने स्वास्थ्य सम्बन्धि सबै सेवाहरु लिए नलिएको मुल्यांकन गरि सबै सेवा लिन उत्प्रेरणा प्रदान गर्ने हेतुले स्मार्ट आमा सम्मान कार्यक्रमको शुभारम्भ गरेको हो ।

गाँउपालिकाको स्वास्थ्य शाखाले सुत्केरी अवस्थामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनौला हजार दिनका आमालाई लक्षित गरि सरकारले संचालन गरेका जनस्वास्थ्यका सबै कार्यक्रमहरु लक्षित वर्गले अधिकतम उपयोग गरि स्वास्थ्य क्षेत्रका सबै सुचक पूरा गर्ने उदेश्यले यस्तो कार्यक्रम लागू गरेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक बर्ष २०८०/०८१ का कार्यक्रम संचालनका लागि सबै सुचकहरु पूरा गरेकी आमालाई बिशेष समारोहको आयोजना गरि सम्मान गर्ने भएको छ ।

जसको लागि स्वास्थ्य संस्थाले आर्थिक बर्षको पहिलो दिनदेखि पौष मसान्तसम्म हजार दिन पूरा भएका आमाहरूको लगत तयार गरि लगत अनुसार सेवा लिए / नलिएको जानकारी लिने र अनिवार्य रुपमा संस्थागत प्रसुती सेवा लिएका आमा मध्ये सबैभन्दा बढी सुचक पूरा गर्ने केही स्मार्ट आमाहरु पुरस्कृत हुने छन ।

यस्तै , स्वास्थ्य संस्थाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक गाउँपालिकाले गाउँपालिका अन्तर्गतका १४ वटै स्वास्थ्य संस्थाहरुले सुरक्षित मातृत्व कार्यक्रम ,खोप कार्यक्रम ,पोषण कार्यक्रम ,बालरोग एकिकृत व्यवस्थापन कार्यक्रम लगायत जनस्वास्थ्यका कार्यक्रमहरु समेत प्रभावकारी रुपमा संचालन गरेको छ ।

यस्तै गाउँपालिकाले आमा र बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *