पुस १० गुल्मी
गुल्मीमा अत्याधुनिक सुविधा सहितको अस्पताल सञ्चालनमा आएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।
गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर संचालनमा ल्याइएको हो ।
अस्पताल ३ सय ९७ जना नागरिकको सेयर लगानीमा स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताउनुभयो ।
एक जना विशेषज्ञ डाक्टर र दुई जना मेडिकल अफिसर सहित नियमित रूपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक सरोज पाण्डेले जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खरज्याङ पब्लिक हेल्थ क्लिनिकको संयुत लगानीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो ।
अस्पतालले नाफामुखी भन्दा पनि सेवामूलक तरिकाले सेवा प्रदान गर्ने आफूहरूको प्रमुख उद्देश्य रहेको अर्यालले बताउनुभयो । गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी कूल एक लाख बढीले अस्पतालबाट सेवा लिने अनुमान गरिएको छ ।
हालसम्म अस्पताल निर्माणमा सात करोड खर्च भई सकेको जनाएको छ । १४ गते अस्पतालको बिधिवत रूपमा उद्घाटन गर्ने र अस्पतालमा विशेषज्ञ शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ ।
पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष गोपालबहादुर पोखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताउनुभयो । त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति सदस्य रामप्रसाद पोखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूको समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीको संगम स्थल गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताउनुभयो ।