
सुदर्शन पन्थ, असार १० गुल्मी ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १८औं गाउँसभाको दोस्रो बैठमा उपाध्यक्ष मिना देवि गौतमले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
बजेट अनुसार पुँजीगततर्फ १८ करोड ७० लाख ५० हजार रुपैयाँ र चालुतर्फ ३६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पुर्वाधार विकासमा विशेष जोड दिएको छ ।
गाउँपालिकाले २ वर्ष भित्र सबै वस्ती सडक सञ्जालबाट जोड्ने, जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गर्ने, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन करार सम्झौता गर्ने, कर्मचारी प्रोत्साहन र कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने योजनालाई बजेटमा समावेश गरेको छ।
उपाध्यक्ष गौतमले प्रस्तुत गरेको बजेटको सफल कार्यान्वयनबाट गाउँपालिकामा उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्दै नागरिकको जीवनस्तरमा सुधार गरी सुखी र समृद्ध रुरुक्षेत्र निर्माणको अभियानमा सहयोग पुग्ने र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता एवम् गुणस्तर अभिवृद्धि भई सुशासनको प्रत्याभूति हुने विश्वास व्यक्त गर्नु भएको छ।