
सुदर्शन पन्थ, चैत्र १० गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ।
आइतबार गाउँपलिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पालिकाको वर्तमान अवस्था सहितको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

सुनुवाइको क्रममा रुरुक्षेत्र ४ का मानबहादुर पौडेलले शिक्षामा मर्ज भएपछि यातायातक व्यवस्था नभएको, कृषि अनुदान तथा ऋण, पानीको समस्या लगायतका विषयमा गुनासो राख्नु भएको थियो।

यस्तै रुरु गौ सेवा आश्रामकी सीता ज्ञवालीले गौशालाको लागि नियमित बजेट व्यवस्थापन भएमा राम्रो हुने र पालिकाले कर्मचारी व्यवस्थापन गर्नु पर्ने माग राख्नु भएको थियो।

गुनासो राख्ने क्रममा वडा नं. ४ का मेज्ञ बहादुर खत्रिले पालिका भवन उद्घाटनमा भएको ढिलाइ, सहमति भन्दा बढी रुख कटान, औद्योगिक ग्रामको माटो व्यवस्थापन, पालिका पहुँच मार्ग लगायतका विषयमा गुनासो राख्नु भएको थियो।

यस्तै कार्यक्रममा मदन भण्डारी राजमार्ग विस्तारको क्रम फालिएको माटोले बस्तीमा पर्न सक्ने जोखिम, शाखा बाटोलाई गरिएको वेवास्ता, विद्धुत महशुलमा दिइने छुटले निम्त्याउने समस्या, शिक्षालाई व्यवसायिक नभएर सामुदायिक बनाउनु पर्ने, विगतमा सम्पन्न भएका योजनाको अनुगमन तथा पुन:व्यवस्थिन गर्नु पर्ने, वस्ती जोखिममा रहेका सामुदायिक वनका रुख कटानमा समस्या, कफि अनुसन्धान केन्द्रको अवस्था, सहकारी संस्था खारेजीको अवस्था, अनलाइन नागरिकता सिफारिसको समस्या लगायत सञ्चालनमा रहेका योजनाहरुको नागरिक तहबाटै अनुगमन हुनु पर्ने जस्ता आवाज उठेका थिए।

प्रमुख जवाफदेही वक्ताको रुपमा उठेका गुनासा तथा प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नागरिकको सकारात्मकको सुझावले नै समग्र विकासमा मद्दत पुग्ने भन्दै उठेका गुनासाहरुको सम्बोधनमा सक्दो पहल गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा पालिका भित्रका जन प्रतिनिधि, कर्मचारी, सम्पुर्ण वडाका वडाध्यक्ष, विभिन्न राजनितीक दलसँग आवद्ध नेता गण, समासेवी व्यक्तित्व , शिक्षा सँग सरोकार राख्ने शिक्षाप्रेमी, सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण रेडियो श्रृङ्गेश्वरले १०४.४ मेघाहर्जले गरेको थियो।
