साबित्रा पौडेल, कार्तिक ८ गुल्मी ।
पुर्ख्यौली सोरठी नाच, पन्चेबाजा तथा कालिका नाच लगायतको संरक्षण गर्न घोर्ले युथ क्लब रेसुङ्गा नगरपालिका १२ गुल्मीले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।
“हाम्रो संस्कृति,हाम्रो पहिचान, संरक्षण र प्रवर्द्धन GYC को अभियान” भने मूल नाराका साथ क्लबले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारी यही कार्तिक १० गते घोर्लेको पुर्ख्यौली सोरठी नाच, पन्चेबाजा, कालिका नाच, भजन तथा बेजोड सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा लोकप्रिय गायक तिलक बस्नेत गायिका सीमा नेपाली लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
कार्यक्रम रानीपोखरी आधारभूत विद्यालयको प्राङ्गण उर्लेनी घोर्ले गुल्मीमा हुने क्लबका अध्यक्ष भीम रास्कोटीले जानकारी दिनुभयो।
तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ । आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् ।
यो नाच समूहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरुसँगै गाउने र नाच्ने गर्छन् ।
नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ । यो नाच गुल्मीका पश्चिम भेगमा लोकप्रिय छ ।