कमल अधिकारी, पाल्पा
पाल्पाको लुम्बिनी मेडिकल कलेजले पुनः स्वास्थ्य बीमा अन्तरगतका सेवा दिन थालेपछि जिल्लाबासीमा खुसी छाएको छ । स्वास्थ्य बीमा बोर्ड र लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच सेवा प्रवाहका लागि सम्झौता भई प्रशासनीक कार्य सम्पन्न भएपछि सोमबारबाट सेवा सुरु भएको हो ।
सेवा सुरु गर्ने सम्झौतामा बोर्डका पाल्पा संयोजक अजुर्न पौडेल र कलेजका तर्फबाट कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गर्नुभएको छ । गत पौष २९ गते बसेको बोर्डको बैठकले लुम्बिनी मेडिकल कलेजसहितका अस्पताललाई पुनः अस्पताललाई सेवा प्रदायक स्वास्थ्य संस्थाका रुपमा सूचीकृत गरेपछि सेवा सञ्चालनको बाटो खुलेको हो ।
विगतमा पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिस्न अस्पतालले स्वास्थ्य बीमा अन्तरगतको सेवा दिदै आएकोमा सरकारले निजी मेडिकललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएसँगै सेवा रोकिएको थियो ।
यस्तै समयमा भुक्तानी नपाएको भन्दै युनाइटेड मिसन अस्पताल तानसेनले भने सेवा दिन नसक्ने विज्ञप्ति जारी गरेर सेवा रोकेपछि पाल्पासहित छिमेकी जिल्लाबा बिरामी समस्यामा परेका थिए ।
हालै सरकारले पुनः मेडिकल कलेजमार्फत सेवा सुचारु गरेपछि उपचारमा सहजता आउने भएको हो । यसअघि सरकारी अस्पताल सुविधासम्पन्न नहुँदा थप सेवा लिनका लागि यहाँका बिरामीलाई निकै सास्ती खेप्नु परेको थियो ।