रुरु क्षेत्रको निति तथा कार्यक्रम :कृषि र पशुपालनमा उच्च प्रथमिकता

सुदर्शन पन्थ, असार ६ गुल्मी ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

शुक्रबार गाउँपालिकाको १८ औं गाउँसभाको पहिलो बैठकमा अध्यक्ष यदु ज्ञवालीले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षकहरूलाई ICT/IEMIS तालिम, अभिभावक शिक्षा कार्यक्रम, १ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन Interactive smartboard वितरण कार्यक्रमलाई थप विस्तार गर्ने, छोरीबुवारी उच्च शिक्षा अध्ययनमा प्रोत्साहन गर्ने, विद्यालय बस सञ्चालनमा अनुदान दिने,प्रत्येक मा.वि. मा दुई महिना आवासीय कक्षा सञ्चालन गर्ने, क्रिकेट बन्द प्रशिक्षण गर्ने, प्रश्न बैंक निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ।

यस्तै थानापति स्वास्थ्य चौकीमा ल्याब सेवालाई विस्तार गर्ने, घरघरमा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता, सुनौलो हजार दिने पोषण सम्बन्धी कार्यक्रम सञ्चालन, स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजनालाई निरन्तरता, सबै विद्यार्थीको स्वास्थ्य परीक्षण, १५ शैयाको आधारभूत अस्पताल सञ्चालन, चितवन र काठमाडौँबाट समेत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन पहल गर्ने लगायतका कुरा स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रममा समेटिएका छन्।

किशोरीहरूका लागि आत्मरक्षा तालिम, जाति विभेदमुक्त पालिका घोषणा गर्ने, जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना, अपाङ्गता भएका व्यक्तिहरूको कृत्रिम अङ्ग प्रत्यारोपण गर्न आवश्यक समन्वय गर्ने, दलितहरूका परम्परागत पेशालाई आधुनिककरण गर्ने, बृहत् महायज्ञ सञ्चालन गरी यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई थप उजागर गर्ने, एक घर एक धारा पूर्ण गाउँपालिका घोषणा गर्ने, खानेपानी परीक्षण ल्याब सञ्चालन गर्ने र डिप बोरिङको कार्यलाई समेत अगाडि बढाउने जस्ता योजना समेटिएका छन्।

कृषकसँग प्राविधिक,एक वडा एक उत्पादन, कृषक वर्गीकरण, जग्गा भाडामा अनुदान, कोसेली घर तथा सङ्कलन केन्द्रको स्थापना, आधुनिक गोठ तथा खोर सुधार, सायलीज उत्पादन, बाली तथा पशुधन बीमा, स्थानीय सगुनको ब्रान्डिङ, लघु उद्यम व्यवसाय प्रवर्द्धन, मदन भण्डारी राजमार्ग अन्तर्गत पालिकाभित्रका अग्ला पर्खालमा संस्कृति झल्कने भित्तेचित्र लेखन, रिडीमा व्यवस्थित कुण्ड र जिपलाइन निर्माण जस्ता कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएका छन्।

जारी १८औं गाउँसभाको दोस्रो बैठक यही असार १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *