आज गाईजात्रा:रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक बिदा

साबित्रा पौडेल, भाद्र ४ गुल्मी ।

आज गाईजात्रा। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्षको प्रतिपदा तिथिदेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज बिभिन्न कार्यक्रम गरी देशैभर मनाईदैँछ ।

गाईजात्रा पर्व सामाजिक तथा सांस्कृतिक पर्व पनि हो । आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । नेवारीमा ‘सा’ भन्नाले गाई र ‘पारु’ भन्नाले प्रतिपदा हुन्छ।

यसरी परिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

यसैबिच गाईजात्राको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । भदौ २ गते बसेको अध्यक्षस्तरीय बैठकको निर्णय अनुसार मंगलबार सार्वजनिक बिदा दिएको जनाएको छ ।

आज गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालय , स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू र अन्य संघ संस्थाहरू बन्द रहने छन । गाईजात्रा पर्व पितृको सम्झनामा नेपालमा मनाइने विभिन्न चाडपर्वहरूमध्ये महत्वपूर्ण चाडका रूपमा रुरुक्षेत्र गाउँपालिका सहित देशभरका नेवार समुदायहरूले मनाउने मौलिक पर्व हो।

रुरुक्षेत्र गाउँपालिकाको रिडी,रानीबास, धोबीघाट, बलेटक्सार लगायतका बस्तीमा नेवार समुदायको बाहुल्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *