जवाफदेहीता र स्वामित्वग्रहणमा कन्जुस्याईँ नगरौँ : अध्यक्ष पाण्डेय

छत्रकोट गाउँपालिका क्षेत्रमा केहीदिनदेखि चलिरहेको परीक्षाकेन्द्रसँग सम्बन्धित विषयले एक समीक्षा बैठकमा प्रवेश पाएको छ । मंगलबार शिक्षा शाखाले आयोजना गरेको आन्तरिक नतिजा समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आफैँ बसेर गरेको निर्णयको स्वामित्व लिन किन नसकेको भनी प्रश्न गर्नुभयो ।


सम्मुखमा रहेका माध्यमिक शिक्षा परीक्षा एस्इइ र आधारभूत तह परीक्षाको परीक्षा केन्द्र निर्धारणबारे केही दिनअघि भएको निर्णयका विषयमा पालिकालाई निशााना बनाई भएका टिप्पणीको प्रतिवाद गर्दै अध्यक्ष पाण्डेयले फेसबुकमा चलिरहेको ‘स्यालहुँईँया’ निरर्थक भएको बताउनुभयो ।


परीक्षाकेन्द्रबारे निर्णय गरेका अधिकांश व्यक्ति तथा संस्थागत प्रतिनिधि आफ्नै अगाडि देखेपछि उक्त प्रसंग निकाल्न उपयुक्त मंच भेटेका अध्यक्षले निर्णय सम्झाउँदै भन्नुभयो । “तपाईँहरु नौ ओटै विद्यालय बसेर गरेको निर्णय हैन ?

अनि आफैँ बसेर गरेको निर्णयको स्वामित्व लिएको पनि देखिएन । जवाफदेहीताबाट उम्केर हैन पारदर्शी भएर जान सक्नुपर्छ ।” अध्यक्ष पाण्डेयले अगाडि भन्नुभयो ।

“आफै बसेर गरेको निर्णयको खुलेर स्वामित्व लिन किन सकिएको छैन । व्यक्तिकेन्द्रित आलोचना गर्न पनि त इस्यु ठीक हुनुपर्छ । मानकोटका विद्यार्थीले आफ्नै पालिका भित्रबाट परीक्षा दिन पाउनु, अधिकांस भेगका विद्यार्थीको पायक मिल्ने गरी केन्द्र निर्धारण हुन सक्नु, पालिकाभित्र दुई परीक्षा केन्द्र तोक्ने विषयमा पटक पटक विभिन्न तहमा हमीले गरेका पहलकदमीहरुका नतिजा होईनन् ?”


परीक्षा केन्द्रमा यसपटक भएको केन्द्र संशोधनअनुसार छत्रकोट गाउँपालिकाभित्र जम्मा २ ओटा परीक्षा केन्द्र रहेकोमा सरस्वती माध्यमिक विद्यालय भेंडुवा र मैनडाँडा माध्यमिक विद्यालय हर्दिनेटा कायम गर्ने निर्णय भएको थियो ।

यसअघि परीक्षा केन्द्रका रुपमा रहँदै आएको श्रृङ्गा जनता माध्यमिक विद्यालय आसपासमा सो निर्णयप्रति असन्तुष्टि व्यक्त भएको छ ।

नतिजा समीक्षासम्बन्धी छलफलमा अध्यक्षको कुरा सुनेपछि मौन रहेका धेरैजसो सहभागीले यसअघिको बैठकको निर्णयअनुसार नै हुने प्रतिक्रिया दिएका छन् ।


जनजागृति माध्यमिक विद्यालय छत्रकोट १, हुँगाकी प्रधानाध्यापक कमला भण्डारीले सेवा सुविधा र अवसरका विषय समतापूर्ण, न्यायोचित र वस्तुपरक हुनुपर्ने भन्दै यो निर्णय समयानुकुल भएको प्रतिक्रिया दिनुभयो ।


नेपाल राष्टिय माध्यमिक विद्यालय दौँघाका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणेश प्रसाद ज्ञवालीले भन्नुभयाे “पालिकाभित्रका सबै विद्यार्थीले आफ्नै पालिकाभित्रबाट परीक्षा दिन पाउने र धेरैलाई पायक हुने कुरालाई समन्वय गरेरै जाउँ भन्ने हिसाबले ने हामी पनि सहमत भएको स्थिति हो ।”

पालिका अध्यक्ष पाण्डेयसँग भएको संक्षिप्त कुराकानीमा “हुँगाको फेँदीदेखि दौँघाको टुप्पासम्मका सबै विद्यार्थी तथा नागरिक पालिकाको दृष्टिमा समान् छन् । हुनुपर्छ ।” उहाँले भन्नुभयो “संक्षिप्तमा अहिले यति भनौँ ।”

यसपटकको एस्इइ परीक्षामा छत्रकोट गाउँपालिका भित्रका ९ सामुदायिक र १ संस्थागत विद्यालयका गरी कुल २८४ जना विद्यार्थी सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *