साबित्रा पौडेल , चैत ६ गुल्मी ।
रुरुक्षेत्र गाउँपालिकाका स्थानीयवासीले बिरामी हुँदा आवश्यक पर्ने रगत अब नि:शुल्क पाउने भएका छन ।
विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने गरि सोमबार रुरुक्षेत्र गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ,रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीबीच सम्झौता भएको छ ।
सम्झौतामा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र रक्तसेवाको तर्फबाट रक्तसञ्चार सेवा केन्द्र , रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार रक्तसञ्चार केन्द्र बुटवलमा गाउँपालिकाका बासिन्दालाई रक्तसञ्चार केन्द्र रुपन्देहीले गाउँपालिकाले सोधभर्ना गर्ने गरि नि:शुल्क रगत उपलब्ध गराउनु पर्नेछ ।
गाउँपालिकाले रक्त सञ्चार सेवा केन्द्र बाट नि:शुल्क रुपमा उपलब्ध गराईने रगत वा रगतजन्य पदार्थ बापत प्रती पिन्ट ९५० रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्ने र सेवा शुल्कमा थपघट भएमा सोही अनुरुप मुल्य समायोजन गरि रकम भुक्तानीको व्यवस्था मिलाइने सहमति भएको छ ।
रक्त सञ्चार सेवा केन्द्रले रकम दाबीका लागी खर्च विवरण सहितको प्रतिवेदन प्रत्येक महिनाको १० गतेभित्र गाउँपालिका समिक्षा आईपुग्ने गरी पठाउनुपर्नेछ ।
केन्द्रले आर्थिक प्रतिवेदन पठाउँदा सेवा प्रदान गरिएको व्यक्तिको नामावली र उपलब्ध गराइएको रगतको शुल्क सहित रगतको सेवा लिएका व्यक्तिले पेश गरेको गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कागजातको प्रतिलिपी संलग्न गर्नुपर्ने छ ।
यस्तै, आपतकालीन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भई सम्बन्धित व्यक्तिले कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पछि कागजात पेश गरेमा ४८ घण्टा भित्र नगद फिर्ता गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
आपतकालीन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भई सम्बन्धित व्यक्तिले कागजात पेश गर्न नसकेको र शुल्क नगद भुक्तानी गर्न नसक्ने अवस्थामा केन्द्रबाट तयार गरिएको फारममा सम्बन्धित वडा अध्यक्षसंग फोन वार्ता पछि प्रमाणित भएको जानकारी खुल्ने गरि नम्बर उल्लेख गर्नुपर्ने र सो फारमको प्रतिलिपी समावेश गर्नु पर्नेछ ।
अस्पतालमा लगिएको रगत प्रयोग नभएमा गुणस्तर नबिग्रीने गरी २४ घण्टा भित्र बिरामिका आफन्तले रगत फिर्ता गराउनुपर्ने छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न स्थानमा केन्द्रसंग समन्वय गरि गाउँपालिकाको आयोजना तथा रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा आवश्यकता बमोजिम रक्त संकलन शिविरको आयोजना गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।
आपसी सहमतिमा सम्झौताको अवधी र सर्त थपघट गराउन तथा आवश्यकता अनुसार दुवै पक्षको सहभागितामा समिक्षा बैठक आयोजना गरिने र गाउँपालिका अन्तर्गत कर्मचारीले सेवा लिनुपर्ने भएमा कर्मचारी परिचयपत्र अनिवार्य हुने समेत सम्झौतामा जनाइएको छ ।
यो सम्झौताको अवधि २०८१ असार मसान्तसम्म लागु हुनेछ ।
यो सम्झौता सङ्गै बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने , आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नुपर्ने बाध्यताबाट रुरुक्षेत्रका बासिन्दा मुक्त हुने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
अध्यक्ष ज्ञवालीले विपन्न नागरिकहरू सेवा लिन आउँदा सहज रुपमा रगत उपलब्ध गराउने गरी समन्वयकारी भूमिका खेल्न सुझाव दिदैँ पालिकाले स्थानीयको स्वास्थ्यका लागि विविध काम गर्दै आएको बताउनुभयो ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी, रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति मित्रलाल न्यौपाने तथा सदस्य सचीव राधा ज्ञवालीको उपस्थिति रहेको थियो ।