
इश्वरी बस्याल साउन २, गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लगाइएकाे ताला खुलेको छ । शुक्रबार जिल्ला सुरक्षा समिति समेतको पहलमा ताला खोलिएको हो । सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्ड खरिद गर्दा अनियमितता भएको भन्दै नेकपा एमाले रुरुक्षेत्रले पाँच दिन अघि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
आज अपरान्ह सुरक्षाकर्मी, कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा नगर प्रहरीले ताला खोलेको हो । तालाबन्दीका कारण कर्मचारीको तहवृद्धि प्रक्रिया लगायत अत्यावश्यक काम रोकिएपछि खोल्न चर्को दवाव बढेको थियो ।
आजै मात्र निजाममती कर्मचारीको आधिकारीक टेड युनियनसँगै जिल्लामा क्रियाशील तीन ओटा कर्मचारी संगठनले विज्ञप्तिमार्फत ताला खोल्न अनुरोध गरेका थिए । त्यस्तै एमाले बाहेकका अन्य रानीतीक दल र विभिन्न निकायहरुले समेत तालाबन्दीको विरोध गरेपछि एमाले दबावमा परेको थियो ।
रुरुक्षेत्रमा अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित यदु ज्ञवाली छन् भने उपाध्यक्षसहित कार्यपालिका र गाउँसभामा एमालेको बाहुल्यता रहेको छ ।विवादको विषय अख्तियारमा प्रवेश गरिसकेकोले छानबिनको मागसहित तालाबन्दी गर्नुको औचित्य नभएको भन्दै स्थानीयले समेत ताला खोल्न माग गरिरहेका थिए ।
कार्यकक्षकमा ताला लागेपछि अध्यक्ष ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बाहिरै बसेर काम गर्दै आएका थिए ।