छत्रकोट गाउँपालिकाको आगामी आ.व. को नीति तथा कार्यक्रममा समेटिएका मुख्य योजनाहरु

सुदर्शन पन्थ, असार ३ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

मंगलबार पालिकाको जारी २० औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष राम प्रसाद पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो।

प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय उत्पादन र उत्पादकत्वको अभिवृद्धि गर्न जग्गा भाडा रकम अनुदान दिने, भूमि बैंक स्थापना र सञ्चालन, राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम, चिया तथा अलैंची खेतीको नमुना परिक्षण, रैथाने बाली संरक्षण, कृषि महोत्सव तथा प्रदर्शनी कार्यक्रम सञ्चालन जस्ता कार्यक्रमहरु समेटिएको छ । रो

जगारी सिर्जना गर्न छत्रकोट जिपलाइनको थप प्रचारप्रसार गर्ने, एक वडा एक लघु उद्योग स्थापना गर्ने, वैदेशिक रोजगारीमा जानेहरुका लागि सीप विकास तालिम सञ्चालन गर्ने, स्थानीय लघु उद्यम महोत्सव, अध्यक्ष सँग रिटर्नी कार्यक्रम सञ्चालन गर्ने कुरामा जोड दिइएको छ।

सीप तथा क्षमता विकास र प्रविधि मैत्री डिजिटल शिक्षा तर्फ ८ देखि १० कक्षालाई पूर्णतः डिजिटल गराउने, माध्यमिक विद्यालयमा IT Supporter शिक्षकको व्यवस्था गर्ने, आत्मबोध, श्रृङ्गा र जन जागृती मा वि मा विद्यालय यातायात सञ्चालनको लागि अनुदान दिने योजना अघि सारिएको छ।

यस्तै श्रृङ्गा जनता माध्यमिक बिद्यालयमा प्राविधिक बिषय पठनपाठनको लागी आवश्यक पहल गरिने भएको छ। गुणस्तरीय स्वास्थ्यको प्रवर्द्धनको लागि श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा शवगृह फ्रिज व्यवस्था गर्ने, घरमै सुत्केरी जाँचको प्रबन्ध मिलाउने, स्वास्थ्य क्षेत्रलाई पेपर लेस बनाउने, दीर्घ रोगीलाई मासिक रुपमा जिविकोपार्जन भत्ता उपलब्ध गराउने, विपन्न परिवारको पहिचान गरि स्वास्थ्य बीमामा आवद्ध गर्ने, छत्रकोटमा खुला व्यायाम शाला निर्माण गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रत्येक वडामा कम्तीमा एक स्थानमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक आवास गृहको निर्माण गर्ने र ५० वर्ष उमेर पुगेका एकल महिला तथा पुरुषहरुलाई जीवन निर्वाह सारथी भत्ताको समेत व्यवस्था गरिने भएको छ ।

छत्रकोट चक्रपथ तथा वडा स्तरका सडक स्तरोन्नति गर्ने र आ. व. २०८२/०८३ मा प्रशासकीय भवन निर्माण सम्पन्न गरि सोही भवनबाट सेवा प्रवाह गरिने भएको छ । गाउँपालिका भित्रका गतिविधिलाई प्राथमिकता दिँदै जनता समक्ष यथार्थ सूचना प्रवाह गर्ने सञ्चारकर्मीहरुलाई प्रोत्साहन र पुरस्कृत गरिने कुरा समेत नीति तथा कार्यक्रममा समेटिएको छ।

जारी २० औं गाउँसभाको दोस्रो बैठक असार १० गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *