रुरुक्षेत्रमा एमालेले गर्यो तालाबन्दी

साबित्रा पौडेल, असार ३० गुल्मी ।

रुरुक्षेत्र गाउँपालिकामा तालाबन्दी भएको छ । नेकपा एमाले रुरुक्षेत्रले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्ड जडानको विषयमा अनियमितता भएको भन्दै एमालेले त्यसको छानबिन गर्न माग गर्दै तालाबन्दी गरिएको गाउँकमिटी अध्यक्ष फर्सुराम ज्ञवालीले बताउनुभयो ।

त्यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले पालिकामा ज्ञापन पत्र बुझाएका थिए । सो ज्ञापन पत्रमा गत चैत २५ गते कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गरी असारमा मात्र कोटेशन माग गरिएको उल्लेख छ । प्रचलित खरिद ऐन र नियमावली मिचेर विद्यालयहरुमा स्मार्टबोर्ड जडान गरिएको भन्दै एमालेले विरोध गरेको छ ।

खरिद आव्हानको अन्तिम मिति अगावै विद्यालयमा बोर्ड जडान हुनुले अनियमितता भएको एमालेको निष्कर्ष छ । ज्ञापनपत्रमा यो विषय टुङ्गो नलाग्दासम्म पार्टीबाट निर्वाचित सबै जनप्रतितिनधीहरु गाउँपालिकाको कुनै पनि कार्यक्रममा सहभागी नहुने भनिएको छ ।

स्मार्टबोर्ड जडानमा भएको के हो ?

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउनका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट १० लाख गरी कुल ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सो रकमबाट गाउँपालिकाभित्रका सातओटा सामुदायिक विद्यालयहरुमा स्मार्टबोर्ड जडान गर्ने योजना थियो । उक्त निर्णय गत चैत्र २५ गतेको कार्यपालिका बैठकले गरिसकेको थियो ।

त्यसको कार्यान्वयनमा भएको ढिलाइसँगै बजेट फ्रिज हुने त्रासले छिटो खरिद गर्न खोज्दा प्रक्रियागत त्रुटि भएको स्थानीयहरु बताउँछन् । यही असार ३ गते विद्यालयहरुमा बोर्ड जडान गर्ने प्राविधिक पुगेको र विद्यालयहरुलाई भुक्तानी माग्न ताकेता गरिएको एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले बताउँदै आएका छन् ।

कोटेशन अवधि पुरा नहुँदै काम सम्पन्न भएको भनी विवाद उत्पन्न भएपछि उक्त कामको भुक्तानी प्रक्रिया पनि रोकिएको छ । उपाध्यक्ष मीनादेवी गौतमसहित २८ जनप्रतिनीधीले बुझाएको ज्ञापनपत्रमा ३५ लाख रुपैयाँ फ्रिज गराई ठूलो नोक्सानी पुर्याईएको आरोप लगाइएको छ ।

विवाद उत्पन्न भएपछि चैत्र २५ गतेको निर्णय नै कार्यान्वयन हुन नसकेको देखिन्छ ।
जब कुनै भुक्तानी नै भएको छैन भने यसमा अनियमितताको आशंका गर्नुको कुनै अर्थ नहुने गाउँपालिका अध्यक्ष यदु ज्ञवाली बताउनुहुन्छ । अध्यक्ष ज्ञवालीका अनुसार यसमा छानबिनका लागि पालिका तयार छ ।

तालाबन्दी प्रति पालिकाको गम्भीर ध्यानाकर्षण

यता, साेमबार भएकाे तालाबन्दीप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पालिकाका प्रवक्ता हरि प्रसाद ज्ञवालीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक सेवा लिन पाउने नागरिकको अधिकारबारे जिम्मेवार बन्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा असार २७ गते बसेको शिक्षा समितिको बैठकमा सम्बन्धित ७ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “गाउँ शिक्षा समितिको बैठकमा खरिद प्रकरणको विषयमा भइगरेका गतिविधीहरुको बारेमा छलफल तथा समीक्षा गरी सो विषयमा भएका द्धिविदाहरु बैठकबाट टुङ्ग्याइएको ।”

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेकोले स्वतः छानबिन हुने भन्दै तालाबन्दी खोली सहजीकरण गर्न आग्रह गरिएको छ । साथै खरिदको निर्णय कार्यपालिकाबाटै भएकोले कार्यान्वयनको विषयमा हुने प्रक्रियागत त्रुटिमा अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतको मानदमर्दन हुने गरी भ्रामक सूचना फैलाएको भन्दै पालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *