
साबित्रा पौडेल, जेठ १ गुल्मी।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भजन प्रतियोगिता आयोजना गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रुरुक्षेत्रको धार्मिक,सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
श्रृङ्गेश्वर धाम प्राङ्गण रुरुक्षेत्र ४ लेख गुफामा यही जेठ ९ गते बिहान ११ बजेदेखि सुरु हुने भजन प्रतियोगितामा १२ जना सहभागी हुन पाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. २० हजार, द्वितीय हुने समुहलाई नगद रु. १५ हजार, तृतीय हुने समुहलाई नगद रु. १० हजार र सान्त्वना हुने समुहलाई नगद रु. ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
सात मिनेटसम्मको भजन र नृत्यको मात्र मूल्याङ्कन हुने प्रतियोगितामा उत्कृष्ट नृत्य पुरस्कार नगद रु.२००० र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व झल्किने भजनलाई प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।