२६ मंसिर गुल्मी/अनिल खत्री ।
घर वरिपरि मौरीका घारैघार अनि सुन्तलाको बगैंचा । बिहान उठेदेखि साँझ नपरुन्जेल तिनै मौरीका घार र बगैंचा व्यवस्थापनमा व्यस्त हुन्छन् गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका मानबहादुर फुङजेली ।
विगत दुई वर्षदेखि छचुरे कृषि फर्म दर्ता गरेर व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका फुङजेलीसँग अहिले सेरेना जातका ३० वटा मौरीका घार छन् । मौरीले राम्रै आम्दानी दिन थालेपछि उत्साह पनि बढ्दै गएको उनी बताउँछन् ।
‘बर्खामा र अत्याधिक चिसो हुने समयमा ख्याल गर्ने हो भने मौरी पालनबाट राम्रो प्रतिफल लिन सकिन्छ,’ फुङजेली भन्छन्, ‘महबाटै मनग्य कमाइ हुन थालेपछि यसमै रमाइरहेको छु ।’
परिश्रम गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् फुङजेली । १३ वर्षदेखि व्यवसायीक रुपमा कृषि कर्म गर्दै आएको बताउने फुङजेलीले कागती, सुन्तला र तरकारी खेती पनि गरेका छन् । त्यसबाट राम्रो प्रतिफल मिलिरहेको उनले बताए ।
फुङजेलीजस्तै जिल्लाका अरु किसानहरुले पनि मौरी पालनबाट राम्रो कमाइ गर्दै आएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाका वडा नम्बर ८ र ९ लाई मौरी स्मार्ट गाउँ नै घोषणा गरिएको छ । तीन वर्षअघि कृषि ज्ञानकेन्द्रको सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएको थियो । त्यहाँ हाल ५१ किसान संगठित छन् ।
गुल्मी जिल्लाभर हाल ४ हजार ५ सय जना किसानले मौरी पालेका र वार्षिक १० दशमलव ५९ मेट्रिक टन मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।उनीहरुले वार्षिक २५० घार मौरी, मौरी विनाका दुई सय घारसमेत निर्यात गर्दै आएका कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
मह वर्षमा दुई पटक निकाल्ने गरिन्छ । जिल्लामा उत्पादन भएको मह बिक्री गर्न समस्या पनि नभएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
‘पहाडी क्षेत्रमा सेरेना जातको मह उत्पादन हुने हुँदा यसको मह ग्राहकहरुले खोजी–खोजी किन्ने गरेकाले बजारको समस्या छैन,’ कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले भने, ‘उक्त मह किसानहरुले घरबाटै १ हजार ५ सय रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आएका छन् ।’
१० वटाभन्दा बढी घारमा मौरी पाल्ने किसानलाई कृषि ज्ञानकेन्द्रले मौरी र घारमा अनुदान समेत दिने गरेको छ । मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भए पनि आवश्यक ज्ञानको कमीले कृषकले विनातालिम आफ्नै तरिकाले मौरी पाल्ने गरेका छन् ।
यस वर्ष मौरीको घार संख्या धेरै रहेको, चरन क्षेत्र राम्रो भएको र वर्षाले पनि धेरै असर नगरेकाले जिल्लामा गत वर्षभन्दा मह उत्पादन वृद्धि भएको अनुमान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ ।