
काठमाडौँ : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।
उहाँ आज (मंगलवार) भएको निर्वाचनमा ३९ मत प्राप्त गरी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभयो ।
दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।
आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिनुभएन ।