श्रृङ्गा जनता मावि छत्रकोट ४ मा गठित बाल क्लबद्वारा बाल कोष स्थापना

माधव ज्ञवाली, जेठ २८ गुल्मी ।

श्रृङ्गा जनता मावि छत्रकोट ४ श्रृङ्गा गुल्मीमा नव गठित बालक्लबले बाल कोष स्थापना गरेर नयाँ कार्यको सुरुवात गरेको छ।

शैक्षिक शत्र २०८२ अन्तर्गत गठित बाल क्लबले विद्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरि बाल कोष को स्थापना गरेको घोषणा गरेको थियो, कोषको स्थापना भएसङ्गै बालक्लबलाई सहयोग उपलब्ध हुन थालेको क्लबका अध्यक्ष मनिषा पौडेलले जानकारी गराइन।

अझैपनि सामुदायिक विद्यालयमा पठनपाठन गर्ने कतिपय विद्यार्थीहरु गरिबीको रेखामुनि रहेका र त्यसै कारणले उनिहरुको पठनपाठनमा बाधा उत्पन्न भएको महसुस गरि त्यो समस्यालाई केही हदसम्म भएपनि समाधान गर्ने उदेश्यसहित विद्यालयमा बालकोषको स्थापना गरिएको उनको भनाइ छ ।

क्लबका संयोजक एवं विद्यालयका शिक्षक डेलराज खनालले बाल कोष स्थापना भएसङ्गै क्लबलाई सहयोग उपलब्ध हुन थालेको बताउँदै प्राप्त सहयोगलाई क्लबले कोष स्थापना गर्नुको उद्देश्य अनुरुपनै सदुपयोग एवं परिचालन गरिने बताउनुभएको छ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवं शिक्षक कर्मचारीहरु एवं विद्यार्थीका अभिभावक सङ्गै शिक्षाप्रेमीहरुले आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै बाल क्लबको यो अभियानलाई सहयोग गर्न सकिने बताइएको छ भने अन्य विभिन्न अवसरमा गरिने खर्चमध्ये केहि हिस्सा बाल क्लबको अभियानमा सहयोग गरेर क्लबको उदेश्यलाई पूरा गर्न साथ सहयोग उपलब्ध गराउन सकिने भनिएको छ।

क्लबले बालकोष स्थापना गरेसङ्गै केहि विद्यार्थी एवं शिक्षकहरुले आफ्नो जन्मदिनको अवसर पारी सहयोग उपलब्ध गराई क्लबको अभियानमा सहभागी भईसकेको बताउँदै विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले खुसी व्यक्त गर्नुभएको छ भने सहयोग गर्ने सहयोगदाता एवं अभियान सुरु गर्ने बाल क्लबलाई धन्यवाद प्रकट गर्नुभएको छ।

क्लबले अभियान सुरु गरेसङ्गै विद्यालयमा अध्यनरत केहि विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान समेत गरेको छ। त्यस्तै विद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलले पनि आफ्नी ममतामही माताको १५ दिनको पुण्यतिथिको दिन पारेर उहाँको सम्झनामा बाल क्लबलाई नगद रु. ५ हजार १ सय सहयोग गर्नुभएको छ।

क्लबलाई प्राप्त उक्त सहयोगको पारदर्शी रुपमा समयसमयमा हिसाबकिताब सार्वजनिक गरिने र विद्यालयकै विभिन्न क्रियाकलापमा सदुपयोग गरिने बाल क्लबले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *