छत्रकोटको विद्यालय समायोजन पेचिलो बन्दै,श्रृङ्गाजनता माबिका प्रअद्वारा मानमर्दनको गुनासो

बैशाख २४,गुल्मी,इस्वरी बश्याल:

गुल्मीको छत्रकोट गाउँपालिकामा विद्यालय समायोजन सम्बन्धि बिषयले तरङ्ग पैदा भएको छ । गाउँपालिकाको विशेष अधिवेशनबाट पारित विद्यालय समायोजन र दरबन्दी मिलान सम्बन्धि प्रस्ताव कार्यान्वयनका क्रममा पालिका र विद्यालयहरु बीचको दुरी बढेको हो ।

गाउँपालिकाले गत चैत २२ गते विशेष अधिवेशन गर्दै विद्यालय समायोजन र दरबन्दी मिलान सम्बन्धि प्रस्ताव पारित गरेको थियो ।

पारित प्रस्तावमा गाउँपालिकाभित्रका ९ वटा प्राथमिक विद्यालय नजिकको विद्यालयमा समायोजन हुने र एक बाल विकास केन्द्र खारेज हुने बिषय उल्लेख छ ।

सोही निर्णय बमोजिम १८ वटा दरबन्दी कम भएका विभिन्न विद्यालयमा थपिने भनीएको थियो ।

त्यसलाइ कार्यान्वयन गर्ने शिलशिलामा पालिकाले शिक्षक सरुवाको सुची तयार पारी प्रधानाध्यापक लाई थमाउन खोज्दा विवाद देखिएको छ ।

श्रीङ्गा जनता मा. वि छत्रकोट गाउँपालिका – ४ का प्रधानाध्यापक विकासचन्द्र खरेलले शिक्षक सरुवाको गोप्य शिलबन्दी पत्र बुझ्न पालिकाले अनुचित दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न कठिन रहेको बताउनुभएको छ ।

“हाल उक्त विद्यालयमा भर्ना भएका विद्यार्थी र शिक्षक अनुपात नमिलेको, व्यवस्थापन समिति र समुदाय सङ्गको छलफलपछि मात्र पत्र बुझ्ने” भन्दा पालिका अध्यक्ष र शिक्षा शाखा प्रमुखले पत्र बुझ्न् वा राजीनामा दिन दवाव दिएको प्रधानाध्यापक खरेलको भनाइ छ ।

यता, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एक जिम्मेवार व्यक्तिले आवेग र लहडका भरमा विज्ञप्ति निकाल्दै हिड्नु नै त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ ।

रेडियो श्रीङ्गेश्वरले लिएको प्रतिक्रियामा उहाँले भन्नुभयो “श्रीङ्गा जनता मा वि को सन्दर्भमा पालिकाले पुल दरबन्दीकै व्यवस्था गरेर भएपनी उचित व्यवस्थापन गर्ने भनिरहेकै छ, आफै मेरो टिम बेगर म गर्न सक्दिन अन्यथा राजीनामा दिन्छु भन्ने र अहिले अरुले दवाव दिए भन्ने कुरा निराधार हो । सबै प्रधानाध्यापकलाई पत्र बुझाउने क्रममा उहाँलाई पनि त्यहि गरिएको हो अरु केही होइन , शिक्षा सुधार्न भुगोल, परिस्थिति र परिवेश अनुसार गरिने दूरगामी निर्णयमा सहयोग गर्नु नै बुद्धिमतापूर्ण हुन्छ ।”

पालिका समायोजन र दरबन्दी मिलानको काम तत्काल सकाएर अघि बढ्न खोजेको देखिन्छ ।

माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका स्थानीय तहहरुले अवस्थाअनुसार फरक फरक अभ्यास गर्दै आएका छन् । केही स्थानीय तहले शिक्षक खटनपटन वार्षिक रुपमै स्वचालित प्रणालीबाट गर्ने अभ्यास पनि सुरु गरेका छन् ।

छत्रकोट गाउँपालिकाले समायोजन भएर जाने विद्यालयका लागी यातायातको सुनिश्चितता गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *