पानीको अभावले पर्वत अस्पतालमा उपचार सेवा प्रभावित, छेउछाउका घरबाट मागेरै काम

माघ २४,पर्वत ।

पानीको अभावले पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।
नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरण लगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भए पनि दैनिक १५ देखि १८ हजार लिटर मात्र उपलब्ध हुँदै आएको छ ।

आवश्यकता भन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा शुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सात वटा शय्यामा मिर्गाैलाका बिरामीको हेमोडायलायसिस हुँदै आएको छ । हेमोडायलायसिस गर्न मात्र झन्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भएपछि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ ।

डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्स–रे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवास लगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ । पानी अभाव हुँदा छेउछाउका घरबाट मागेर समेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । यसका लागि गण्डकी प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । १५ शय्याकाे अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा शय्यामा राखेर बिरामीको उपचार भइरहेको छ ।