आजदेखि मनसुन अझ सक्रिय, ‘अति भारी वर्षा’ को संभावना

२१ असार

देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । दाङको कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहेकालाई सावधानी अपनाउन महाशाखाले भनेको छ । पर्सि आइतवारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा तथा थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेका जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ रहेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी,  मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै  कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *