
असार २०, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका छन् ।
घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो। तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् ।
मृतकका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण घटनाको जटिलता बढेको भन्दै अस्पताल परिसरमै प्रदर्शन गरेका छन् । उनीहरूले अपरेशन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपातसमेत गरेको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकका ससुरा महाबीर सुनारले आफ्नो माईली बुहारीको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान राखेका छन् । साथै, नवजात शिशुको उचित उपचारको माग पनि गरेका छन् ।
यस विषयमा प्रतिष्ठानका निर्देशक डा। जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक जानकारी सङ्कलनको प्रक्रिया चलिरहेको जानकारी दिए । उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचारका क्रममा अपनाइएका विधि र प्रकृयाका आधारमा वस्तुगत यथार्थ सार्वजनिक गरिने बताए ।