
माघ २१ काठमाडौं ।
देशभरका ८३ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न ढिलाइ गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म ६७० वटा स्थानीय तहले मात्रै नतिजा सार्वजनिक गरेका छन् ।
संघीय मामिला मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवि नेपालका अनुसार नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानूनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ । स्थानीय तहको सबल र दुर्बल पक्षहरुको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।