
सुदर्शन पन्थ, जेठ १८ गुल्मी ।
जिल्ला खेलकुद विकास समिती गुल्मीको आयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रुरुक्षेत्र गाउँपालिकाको घिउबेंसीमा आजदेखी सुरु भएको छ ।
आइतबार प्रदेश खेलकुद परिसद सदस्य महेश काउछाको अध्यक्षता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक नारायण अधिकारी, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिना देवि गौतम, छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, पत्रकार सुरक्षाकार्मी लगायत खेलप्रेमी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
नेवा दवु बलेटक्सारको लाखे नाचबाट सुरु भएको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिना देवि गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सदरमुकाममा रहेको खेल मैदान निर्माणको क्रममा रहेको अवस्थामा पनि खेल मैदान सँगै आवश्यक सहयोग गरेकोमा रुरु क्षेत्र गाउँपालिकालाई विशेष धन्यवाद प्रकट गर्नु भएको थियो ।
उहाँले अब नेपाललाई गौतम बुद्ध र सगरमाथाको नाम लिएर मात्र नभइ खेल क्षेत्रले पनि चिनाउने बेला आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सदरमुकाममा मात्र सिमित रहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसै गरि फरक फरक स्थानीय तहमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
प्रमुख अतिथि रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले अनेकौं चुनौतीका बाबजुत रुरुक्षेत्रमा यो कार्यक्रम गर्न पाएकोमा खुशी साट्दै कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन प्रतिबद्ध रहेको जिकिर गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार भुवन भुसालले गर्नुभएको थियो।
आजदेखी सुरु भएर पर्सि सम्म चल्ने प्रतियोगितामा ११ स्थानीय तहका विद्यार्थीले विभिन्न ५ विधाका खेलमा प्रतिस्पर्धा गर्नेछन् ।