रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जाेड्न सार्वजनिक यातायात चलाउने तयारी

माघ १८, गुल्मी ।

पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली मन्दिर र प्युठानको स्वर्गद्वारी जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।


अर्घाखाँचीको सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठानको मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मीको तम्घासबाट झिमरुक गाउँपालिका, प्युठानको मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठानको झिमरुक गाउँपालिकाले पहल थालेको छ ।

यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरेको हो ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमाेद पाेख्रेलले धार्मिक पर्यटकिय स्थलमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले यातायातमा सहज गराउन पहल थालिएको बताउनुभयो ।