
साबित्रा पौडेल, कार्तिक १४ गुल्मी ।
हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । जसान्तर्गत आज कागलाई पूजा आराधनासहित मीठो खान दिइ काग तिहार पर्व मनाइएको छ ।
यस वर्ष तीथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । लक्ष्मीपूजाका दिनदेखि गाउँघरमा देउँसी खेल्ने चलन रहेको बताइएको छ । गुल्मीमा राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्वजनिक सूचना जारी गरी राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेद्वारा जारी सूचनामा तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, दीपावली मनाउने क्रममा प्रयोग हुने भुइँचम्पा, पटका, आतिजबाजी जस्ता विस्टफाेक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात ओसारपसार र विक्री वितरणमा रोक लगाइएको भन्दै यस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।
यस्तै देउसी भैलो खेल्दा परम्परागत चलिआएको संस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भई राति १० बजेसम्म मात्र खेल्न र खेलाउने व्यवस्था गरिदिन, जुवा, तास खेल्ने खेलाउने कार्य नगर्न तथा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन एवं सार्वजनिक स्थानमा हो हल्ला नगर्न अनुरोध गरिएको छ।
नियमहरुको पालना नगरी कानुनको बर्खिलाप हुने गरी कृयाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सार्वजनिक सूचना:
