भुवन रायमाझी मंसिर १३ गते:
पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालुङ् मैनादीमा मंसिर १६ गते प्रथम सुन्तला महोत्सव हुने भएको छ
आज पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरी सुन्तला महोत्सवको बारेमा रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले स्थानीय स्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनको बजारीकरण, व्यवसायिकीकरण र सुन्तलाको विविधकरणमा सहयोग गर्न महोत्सव आयोजना गरिएको भन्दै जानकारी दिनुभयो ।
वडा कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा हुन लागेको महोत्सवमा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको रिव्दीकोट– ७ नं वडाका वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो ।
पालुङ्मैनादीमा मात्र करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका वडाध्यक्ष कँवरको भनाइ छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सबैको सहयोगबाट महोत्सव सफल हुने बताउनुभयो ।
उहाँले सुन्तला खेती गर्ने कृषकलाई हौसला प्रदान गर्न महोत्सव सफल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नयाँ सोच अनुसार कृषकहरुलाई कृषि पेशालाई निरन्तरता दिने र नयाँ कृषकहरु थपिने वातावरण बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो ।
यसका साथै उहाँले सुन्तला खेतीको प्रचारप्रसार, प्रविधि प्रदर्शन, भण्डारन र प्रशोधन सहित बजारीकरणमा महोत्सव सहयोगी बन्ने बताउनुभयो ।
सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख दीपक भट्टराईले सुन्तला महोत्सवमा सुन्तला उत्पादन बढाउन र व्यावसायिक बनाउन प्राविधिक ज्ञान आवश्यक पर्ने भन्दै सो बारेमा विभिन्न प्राविधिक पक्षमा जानकारी गराइ किसानलाई प्रोत्साहित गरिने उहाँले बताउनुभयो ।
विभिन्न शीर्षकका १० वटा स्टल रहने छ ७ नंं वडाको १ लाख ५० हजार रुपैयाँ र अपुग खर्च रकम गाउँपालिकाबाट सहयोग हुने गरी महोत्सव सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सवमा कृषकहरुको अपनत्व, उत्पादनको बजारीकरणसंगै उचित मूल्य सुनिश्चित हुने गरी सञ्चालन गर्न सुझाएका थिए ।
पत्रकार सम्मेलन गाउँपालिकाका सूचना अधिकारी तथा प्रशासन अधिकृत रुकलाल भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।